लण्डन। बेलायतमा सवारी चालकका लागि कडाईका साथ नयाँ नियम लागू गरेको छ। यही १ मार्च, २०१७ वाट उक्त नयाँ नियम लागू भएको छ। स्कटल्याण्ड र वेल्समा समेत लागू गरेको उक्त नयाँ नियममा गाडी हांकेको बेला मोबाइल फोनमा कुरा गरिरहेको भेटिए लाइसेन्स नै रद्द गर्न सक्नेछ।

Driving in UKड्राइभिङ टेष्ट पास गरेको दुई वर्षभन्दा कम समय भएकालाई मोवाइल फोन प्रयोग गरिरहेको अवस्थामा समातिए लाइसेन्स रद्द हुनेछ । अन्य चालकहरुलाई मोटर हांकेको बेला फोनमा बोलेको भेटिए दुईसय पाउण्ड जरिवाना र दोब्बर ६ पोइन्ट आउने बीबीसीले जनाएको छ ।

नयां ड्राइभरले ६ वा बढि पोइन्ट पाए उसले पुनः प्राक्टिकल र थ्योरी जांच दुवै दिनुपर्नेछ । तीनवर्षमा १२ पोइन्ट पाए ड्राइभरलाई मोटर 
हांक्न प्रतिवन्ध समेत लगाइने नयां नियममा छ । ट्राफिक लाइटमा रोकिएको बेला सामाजिक सञ्जाल वा टेक्स्ट म्यासेज हेर्न पनि नमिल्ने नियममा छ । ब्लु टुथ जोडेर फोनबाट गीत संगीत बजाउन सकिने भएपनि फोन हयाण्डस फ्रिमा हुनुपर्नेछ ।

सन् २०१५ मा फोन प्रयोग गरेकै कारण २२ जनाको मृत्यु र ९९ जना गम्भीर घाइते भएका थिए । प्रहरीले सवारी हांकेको बेला फोनमा कुरा नगर्न सचेत गराउंदै त्यसलाई नियन्त्रण गर्न साताव्यापी कारवाही शुरु गरेको छ ।

यातायात विभागले गत २३ देखि २९ जनवरीसम्म करिब ३६ हजार चालकलाई जरिवाना तिराएको थियो । यातायात मन्त्री क्रिस ग्रेलिङले फोन प्रयोग गर्दा आफ्नो र अरु निर्दोषको समेत ज्यान जोखिममा पर्ने जनाउंदै दोब्बर जरिवानाले चालकहरुलाई त्यस्तो नगर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।
प्रकाशन मिति–२०७३ साल फागनु २० गते शुक्रबार ।