लण्डन । बेलायत प्रहरीले १ सय ३६ वटा बलात्कारमा घटनामा संलग्न अपराधीलाई सार्वजनिक गरेको छ। १ सय ३६ वटा बलात्कारमा संलग्न रहेका व्यक्ति इन्डोनेसियाका रिनहार्ड सनागा रहेको बेलायती प्रहरीले जनाएको छ। उनी १ सय ५९ वटा यौन अपराधमा संलग्न भएका दावी बेलायती प्रहरीको छ।

यसअघि दुई मुद्दामा दोषी ठहरिएर आजीवन जेल सजायँ भोगिरहेका सनागा माथि १ सय ३६ वटा बलात्कार, ८ वटा बलात्कारको प्रयास र अरु १४ अपराधमा दोषी ठहर गरिएको हो। सनागाले १ सय ९० जना मानिसलाई निशाना बनाएको दावी पनि प्रहरीले गरेको बीबीसीले जनाएको छ। निकै वर्षदेखि उनी पुरुष बलात्कारमा संलग्न भएको जनाइएको छ।

बेलायतको न्यायिक इतिहासमा सनागा सम्भवतः सबैभन्दा खतरनाक बलात्कारी भएको प्रहरीले जनाएको छ। सनागालाई रिहा गर्नु खतरनाक हुने भन्दै अदालतले पनि उनलाई आजीवन जेल सजायँ दिएको छ। उनलाई कम्तिमा पनि ३० वर्ष जेलमा राख्न न्यायाधीश सुजैन गोडार्डले आदेश दिएका हुन्।

नाइट क्लब र बारबाहिर बसेर त्यहाँबाट निस्कने पुरुषलाई कुर्ने, रक्सी खुवाउने वा ट्याक्सी बोलाइदिने लोभ देखाउँदै आफ्नो फ्ल्याटमा लगी बेहोश बनाउने औषधि दिएर बलात्कार गर्ने गरेको बताइएको छ।

पक्राउ पर्नुअघि सनागा युनिभर्सिटी अफ लिड्समा पिएचडीका विद्यार्थी भएको पनि प्रहरीले उल्लेख गरेको छ। एक व्यक्ति बलात्कारका क्रममा होशमा आएको र प्रहरी बोलाएपछि सनागालाई जुन २०१७ मा पक्राउ गरिएको थियो।

प्रहरीले सनागाको मोबाइल फोन अनुसन्धान गर्दा उसले बलात्कारका क्रममा बनाएका सयौं घन्टाको भिडियो फेला पारेको थियो। यही भिडियोमार्फत् बेलायती इतिहासकैसबैभन्दा ठूलो बलात्कार घटनाको अनुसन्धान सम्भव भएको थियो।

सनागाले पीडितलाई बेहोस बनाउन निकै खतरनाक प्रतिबन्धित लागूऔषधको प्रयोग गर्ने गरेको थियो। आफूलाई निर्दोष दावी गर्ने सनागाले भने सबै पुरुषले सहमतिमै सम्बन्ध बनाएको बयान दिएको छ।
प्रकाशन मिति–२०७६ साल पुस २३ गते बुधवार ।