काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आवतजावत र जमघटमा कडाइ गर्दै लक–डाउनको घोषणा गरेका छन्। बेलायतमा कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा मात्र ५५ जनाको मृत्यु भएपछि बेलायतमा लक–डाउन गरिएको हो। यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३५ पुगेको छ।

बीबीसीका अनुसार, डाइनिङ स्ट्रिटबाट टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सबै नागरिकलाई घरमै बस्न आग्रह गरेका छन्। उनकाअनुसार अब चार कामका लागि मात्र घर बाहिर जान पाइनेछ।

१.दैनिक उपभोग्य बस्तु, औषधि जस्ता अत्यावश्यक बस्तु खरिदका लागि ।
२.उपचार वा हेरचारका लागि, जसमा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्नो अभिभावक भएको स्थानमा लैजाने पनि पर्छ ।
३.काममा जान र फर्किन पाइन्छ, तर यसरी गरिने काम घरबाट गर्न नसकिने हुनुपर्छ ।
४.व्यायामका लागि जस्तो दौडिन, हिँड्न वा साइकल चलाउन पाइनेछ । तर यो एक्लै वा सँगै बस्नेहरुमा मात्र पाइन्छ ।

प्रधानमन्त्री जोनसनले अत्यावश्यक बस्तु बाहेकका सबै पसल बन्द गर्न भनेका छन् र सार्वजनिक स्थानमा दुईभन्दा बढी मानिस एकसाथ बस्न रोक लगाएका छन् । लाइब्रेरी, खेल मैदान, आउटडोर जिम र सबै धार्मिक स्थल बन्द हुनेछन् । पार्कमा व्यायामका लागि जान सकिनेछ, तर मानिसहरु जम्मा हुन पाइँदैन । बेलायती सरकारले मानिसहरुको जमघट हुने सामाजिक कार्यक्रमहरुमा पनि रोक लगाएको छ ।

विवाहमा पनि रोक लागेको छ । तीन सातापछि प्रतिबन्धको समीक्षा गर्ने र अवस्था हेरेर निर्णय लिने प्रधानमन्त्री जोनसनले बताएका छन् । प्रतिबन्ध उल्लंघन गर्नेहरुलाई जरिवाना गर्ने समेत प्रधानमन्त्री जोनसनले बताएका छन् ।
प्रकाशन मिति–२०७६ साल चैत ११ गते मंगलवार ।