लण्डन। बेलायतले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने आदेश दिएको छ। बेलायती प्रधानमन्त्री टेरिजा मेले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकास गरिएको घोषणा गरेकी हुन्।

रुसका पूर्व गुप्तचर र सर्गेइ स्क्रिपाल र उनकी छोरी युलिया स्क्रिपालमाथि गत मार्च ४ मा बेलायतमा विष प्रयोग गरी भएको हमलामा रुसको संलग्नता देखिएको भन्दै उनले रुसी कूटनीतिज्ञहरुलाई देश निकासा गर्ने आदेश दिएको बताइन। ती कूटनीतिज्ञहरुलाई देश छाड्न एक हप्ताको समय दिइएको छ।

यसैबीच रुसी विदेश मन्त्री सेर्गेई लाभ्रोभले बेलायतले पूर्वगुप्तचर सर्गेइ स्क्रिपाल र उनकी छोरी युलिया स्क्रिपालमाथि विष प्रयोग गरिएको घटनाबारे अन्तर्राष्ट्रिय समुदायलाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाएका छन्।

मस्कोमा पत्रकार सम्मेलन गर्दै उनले उक्त घटनाबारे बेलायतले आफूलाई सबै थाहा भएजसो गरी विश्वलाई बताउन खोजेको आरोप लगाए । बेलायतको आरोप बलियो र गम्भीर नभएको उनको भनाइ थियो।

सर्गेई स्क्रिपाल र उनकी छोरीलाई रुसमा बनाइएको स्नायुप्रणालीमा असर गर्ने विषालु पदार्थबाट लण्डनमा किन आक्रमण गरियो भन्नेबारे जवाफ दिन बेलायतले दिएको समयसीमालाई रुसले बेवास्ता गरेपछि बेलायतको राष्ट्रिय सुरक्षा परिषद्ले थप प्रतिबन्धबारे छलफल गरेको छ । युरोपेली आयोगका प्रवक्ता एलेक्जेन्डर विन्र्टस्टाइनले दोषीमाथि कारबाही गर्ने बेलायतको प्रयासमा समर्थन हुने बताएका छन्।

प्रकाशन मिति–२०७४ साल चैत्र १ गते विहीवार ।