काठमाडौं। बेलायतवासी नेपाली गायक सपनकुमार राईको गायन र बरिष्ठ गायिका मीरा राणाको संगीतमा बेलायतमा एक नयाँ गीतको रेकर्ड भएको छ। संगै जिउने संगै मर्ने बोलको विलकुलै नयाँ गीतको लण्डनमा रेकर्ड भएको हो।

गीतकार प्रमोद स्नेहीको गीत–रचना रहेको उक्त विलकुलै नयाँ गीतमा बरिष्ठ गायिका मीरा राणा बेलायत भ्रमणमा रहेको बेला संगीत दिएको गीत गाएर रेकर्ड गर्न पाउंदाको बेग्लै गौरबता महशुश भएको जानकारी गायक सपनकुमार राईले भिजन संसार डटकमलाई दिएका छन्।

गायक राईका अनुसार, गीत रेकर्डिङका समयमा शब्दहरुको सहि–उच्चारण लगायतका प्राविधिक पक्षमा वरिष्ठ गीतकार डाक्टर भोला रिजालले समेत सहयोग गरेका छन्। दुई साताभित्र गीतलाई सार्वजनिक गर्ने पक्षमा आफू रहेको गायक राईले बताएका छन्।

लण्डन साउथहलस्थित ‘कुलजीत भमरा’ स्टुडियोमा गीत रेकर्ड गराइएको हो। जुन स्टुडियो जगजीत सिंह, पंकज उदास, कुमार सानु, सोनु निगमसहितका बलिउडका प्रख्यात गायकहरुले गीत रेकर्ड गर्ने ठाउं भएको जानकारी पनि गायक राईले दिएका छन्।

बेलायतमा नेपाली नंबरी इभेन्ट अर्गानाइजर कम्पनीका रुपमा स्थापित सपन इन्टरटेनमेन्टका कार्यकारी प्रमुख तथा निर्देशक समेत रहेका गायक राईले विभिन्न अवसर र कार्यक्रमका स्टेजहरुमा समेत नेपाली, हिन्दी गीत प्रस्तुत गर्दै आएका छन्।

बेलायतमा गायक राईलाई कतिपयले नेपाली कुमार सानु पनि भन्ने गरेको पाइन्छ। गायक राईका हालसम्म डेढ दर्जन गीत रेकर्ड भैसकेका छन्। प्रतिक, सलुट र मिलेनियम सौगात नामक ती गीति एल्बम पनि सार्वजनिक गरिसकेका छन्।
प्रकाशन मिति–२०७६ साल माघ १२ गते आइतवार ।