लण्डन। युरोपेली संघसंगको झण्डै पाँच दशक लामो सम्बन्ध तोडिएपछि बेलायतले स्वतन्त्र र आत्मनिर्भर रुपमा आफ्नै नीति नियम कार्यान्वयनको अभ्यास शुरु गरेको छ। यिनै ब्रेक्जिटका कारण बेलायतको अर्थतन्त्र, इमिग्रेसन, सुरक्षा लगायतका कयौं संवेदनशील मामिलामा तत्कालको लागि मात्र नभइ दिर्घकालसम्म प्रभाव पार्ने खालका परिवर्तनहरु हुन थालेको हो।

यस्तै, परिवर्तनहरुबीच विश्वमा बेलायती पासपोर्टको शक्ति र स्तरमा पनि ब्रेक्जिटपछि परिवर्तन आएको छ। विश्वकै शक्तिशालीमध्ये एक बेलायती पासपोर्ट पनि ब्रेक्जिटपछि पहिलेको तुलनामा झन शक्तिशाली बनेको छ। संसारमा कुन देशका पासपोर्ट कति शक्तिशाली छन्, कुन कुन देशमा स्वतन्त्र आवतजावत गर्न पाउँछन् भन्ने जस्ता विषयमा अध्ययन गर्ने ‘हेनली पासपोर्ट इन्डेक्स’को अध्ययनले ब्रेक्जिटपछि बेलायती पासपोर्ट झनै शक्तिशाली बनेको देखाएको छ।

अध्ययनअनुसार विश्वका शक्तिशाली पासपोर्टहरुको सूचीमा यस वर्ष बेलायत सातौं स्थानमा आएको छ। सोही सूचीमा गत वर्ष बेलायत एक स्थान तल आठौं स्थानमा थियो। बेलायती पासपोर्टवाहकले भिसा नलिइकन नै विश्वका १ सय ८५ देशहरुको यात्रा गर्न सक्छन्। ब्रेक्जिटपछि बेलायत र युरोपेली संघबीच स्वतन्त्र आवतजावतको सम्झौता खारेज भएपनि धेरै युरोपेली देशहरुले बेलायती नागरिकलाई अझै पनि ‘भिसा फ्रि’ पहुँच दिने भएकाले बेलायती पासपोर्टको स्तर नखस्किएको हो।

शक्तिशाली पासपोर्ट सूचीको पहिलो स्थानमा जापान छ। जापानी पासपोर्टवाहकले विश्वका १ सय ९१ देशमा भिजाबिना यात्रा गर्न पाउँछन्। दोस्रो स्थानमा रहेको सिंगापुर पासपोर्टवाहकलाई १ सय ९० तथा तेस्रो स्थानका साउथ कोरिया र जर्मनीका पासपोर्टवाहकलाई १ सय ८९ देशमा भिजाबिना यात्रा गर्ने छुट छ। चौथो स्थानमा रहेका इटाली, फिनल्याण्ड, स्पेन र लक्जेम्बर्गका नागरिक विश्वका १ सय ८८ देश भिसा बिना जान पाउँछन्।

शक्तिशाली सूचीको पाँचौं स्थानमा डेनमार्क र अष्टिया छन् भने छैठौं स्थानमा स्वीडेन, फ्रान्स, पोर्चुगल, नेदरल्याण्ड र आयरल्याण्ड छन्। ती देशका नागरिकलाई क्रमशः १ सय ८७ र १ सय ८६ देशको यात्रा गर्न भिसा आवश्यक पर्दैन। त्यस्तै, सातौं स्थानमा बेलायतसंगै अमेरिका, स्वीजरल्याण्ड, नर्वे, बेल्जियम र न्यूजिल्याण्ड छन् भने आठौं स्थानमा ग्रिस, माल्टा, चेक रिपब्लिक र अष्ट्रेलिया छन्।

सूचीमा नवौं स्थानमा क्यानडा र दशौंमा हंगेरी छन्। सातौं, आठौं, नवौं र दशौं स्थानमा रहने देशका पासपोर्ट वाहकहरुलाई क्रमशः १ सय ८५, १ सय ८४, १ सय ८३ र १ सय ८१ देशमा भिसा नलिएरै जान सक्ने सुविधा छ। शक्तिशाली पासपोर्टको सूचीमा नेपाल भने अन्तिमबाट नवौं स्थानमा छ। नेपालभन्दा पछि लिविया, प्यालेस्टाइन, यमन, सोमालिया, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन्। नेपाली पासपोर्टवाहकले विश्वका विभिन्न ३८ देशमा भिसाबिना यात्रा गर्न सक्छन् ।
प्रकाशन मिति–२०७७ साल पुस २६ गते आइतवार ।