लण्डन। बेलायतमा पनि नेपाली राष्ट्रिय फुटबल टिमले ऐतिहासिक फुटबल खेल्ने भएको छ। आउँदो वर्ष ३० मे, २०२० का दिन इंग्ल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिमबीच अल्डरसट टाउन फुटबल क्लबमा खेल हुने घोषणा भएको हो।
त्यस्तै सन् २०२१ मा इंग्लिस फुटबल टोलीले नेपाल गएर खेल्ने भएका छन्।

लण्डनस्थित नेपाली दूतावासमा शुक्रबार साँझ आयोजित नेपाल विकास सम्मेलनको छैठौं श्रृंखलामा इंग्ल्याण्ड फुटबल एसोसिएसनको न्यासनल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले उक्त घोषणा गरेका हुन्। जोन्सले इंगल्याण्ड फुटबल एसोसिएसनले नेपालमा फुटबलको विकासमा सघाउन एन्फालाई प्राविधिक सहयोग तथा परामर्श दिने बताए।

बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले यस घोषणाले जनता जनताबीचको सम्बन्ध विस्तार, बेलायतका नेपालीबीच एकता एवं दुई देशको सम्बन्ध थपसृदृढीकरण र पर्यटन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७६ साल बैशाख १५ गते आइतवार ।