लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको शनिबार लण्डन नजिकै विन्डसर क्यासलमा राजकीय सम्मान सहित अन्त्येष्टि गरिएको छ। स्वर्गीय राजकुमार फिलिपको महारानीप्रतिको ‘अविचलित बफादारी, राष्ट्रप्रतिको सेवा र साहस’ झल्कने गरी विशेष समारोहबीच अन्त्येष्टि गरिएको हो।

कोरोन भारइससम्बन्धी ब्रिटिस सरकारले लागू गरेको नियमअनुसार डुक अफ एडिनबरा फिलिपको अन्तिम संस्कारमा शाही 
परिवार सदस्य तथा नातेदार गरी ३० जना मात्र सहभागी भएका थिए। राजकुमार फिलिपको अप्रिल ९ मा ९९ वर्षको उमेरमा निधन भएको थियो । फिलिपको जन्म सन् १९२१ जुन १० मा ग्रीसको कोर्फु द्वीपमा भएको थियो। उनी ग्रिसका राजकुमार एन्ड्र्यु र बाटेनवर्गकी राजकुमारी एलिसका एकमात्र छोरा थिए।

फिलिपको शव राखिएको बाकसलाई ड्युक आफैंले डिजाइन गरेको ल्यान्ड रोभरमा राखेर नजिकैको सेन्ट जर्जेज च्यापलसम्म 
लगिएको थियो। उक्त गिर्जाघरमा फिलिपको शवलाई समाधिस्थ गरिएको हो। अन्त्येष्टि संस्कारमा सशस्त्र फौजका ७ सय ३० भन्दा बढी सदस्य सहभागी थिए । स्वर्गीय फिलिपप्रति श्रद्धाञ्जली अर्पण गर्न स्थानीय समयअनुसार दिउँसो ३ बजे एक मिनेट मौनधारण पनि गरिएको थियो।

बेलायतकी महारानीसँग ७ दशकभन्दा लामो वैवाहिक जीवन सँगै बिताएका फिलिप र महारानीले विश्वका सयौं राजकीय भ्रमण गरेका थिए। सन् १९५२ देखि अवकाश नलिँदासम्म झन्डै २२ हजार त्यस्ता कार्यक्रममा सहभागी भएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, फिलिपमा युवाहरूको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा विशेष रुचि थियो। फिलिपलाई प्रतिबद्ध र आत्मनिर्भर व्यक्तिका रूपमा हेरिने गरिन्थ्यो।
प्रकाशन मिति–२०७७ साल बैशाख ४ गते शनिवार ।