काठमाडौ। बेलायतका राजकुमार ह्यारी विभिन्न सामाजिक कार्यको अलावा यो बर्ष अमेरिकी अभिनेत्रीसंग हुने विवाहको कारण व्यापक चर्चामा रहेको बेला अर्को तहल्का भएको छ। राजकुमार ह्यारीले अमेरिकाकै पूर्वराष्ट्रपति बाराक ओबामासंग अन्तरवार्ता लिएर विश्वलाई फेरि तताउने कार्य गरेका छन्।

बीबीसी रेडियो फोरका लागि राजकुमार ह्यारीले ओबामाको दूर्लभ अन्तरवार्ता लिएर चर्चाको शिखरमा पुगेका हुन्। ह्यारीसंगको अन्तरवार्ताका क्रममा बाराक ओबामाले सामाजिक सञ्जालको गलत प्रयोगविरुद्ध सचेत गराएका छन्।

गत बर्ष २०१७ को जनवरीमा राष्ट्रपति पदबाट बिदा भएका ओबामाले सामाजिक सञ्चालको गलत प्रयोगले मानिसलाई गम्भीर मुद्दाबाट ध्यान अन्यत्रै मोड्ने र गलत सूचना फैलने बताए। उनीपछिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल ट्वीटरमा निकै सक्रिय रहने गर्छन् । तर, ओबामाले उनको नाम भने उल्लेख गरेनन्।

अमेरिकी राष्ट्रपति ट्रम्पबारे मिश्रित अनुभव सुनाउँदै उनले धेरै काम त्यत्तिकै रहेको टिप्पणी गरे । अन्तर्वार्ता लिएका ह्यारीले आफूले धेरै अन्तर्वार्ता नगरेको भन्दै ओबामासँगको कुराकानी निकै रमाइलो भएको प्रतिक्रिया दिए। ओबामाले आफूसँग अन्तर्वार्ता लिन खोजेको पनि ह्यारीले जानकारी दिए। ह्यारीको सो कार्यक्रम सशस्त्र बल, मानसिक स्वास्थ्य, युवा अपराध र वातावारण परिवर्तनका विषयमा केन्द्रित थियो । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल पुष १३ गते विहीवार ।