लण्डन। बेलायतका ९७ बर्षिय राजकुमार फिलिपले सवारी चालक अनुमति पत्र त्यागेका छन्। आफूले चलाइरहेको जीप दूर्घटनामा परेपछि राजकुमार फिलिपले सवारी चालक अनुमति पत्र त्यागेको बकिङ्घम दरवारले जनाएको छ।

९७ वर्षिय ड्युक अफ एडिन्बरा फिलिप बेलायतकी महारानी एलिजाबेथका श्रीमान हुन् । आफूले चलाइरहेको ल्यान्ड रोभर जीप हालै दुर्घटनामा परेपछि उनले क्षमायाचना पनि गरेका थिए। राजकुमार फिलिपले अधिकारीहरूसमक्ष लाइसेन्स बुझाएको र त्यो सवारी तथा लाइसेन्स सम्बन्धी निकायमा पठाइएको नोरफोक प्रहरीले पुष्टि गरेको छ।

बीबीसीका अनुसार राजकुमार फिलिपले गत महिनाको दुर्घटनामा आफ्नो गल्ती भएको स्वीकार गरेका छन्।
अब राजकुमार फिलिपसँग चालक हुनेछन् । जनवरी १७ मा भएको दुर्घटनामा राजकुमार घाइते हुनबाट जोगिएका थिए। तर उनको कारसँग जुधेको किया मोटरमा सवार एक महिलाको नाडी भाँच्चिएको थियो।

कियामा एक नौ महिनाको बालकसहित तीनजना मानिस सवार थिए। राजकुमारले घाइते महिलालाई पत्र लेख्दै दुर्घटनालाई ‘निकै दुःखदायी घटना’ को रूपमा स्वीकार गरेका थिए।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल माघ २८ गते सोमवार ।