Harry Prince of UKलण्डन। बेलायती राजकुमार ह्यारीले नेपालको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिज्ञा गरेका छन् । आफ्नो पहिलो नेपाल भ्रमण शुरु हुनु केही दिन अघि ह्यारीले केन्जिङटन प्यालेसमा म्याप एक्सन नामक च्यारिटीसंग छलफलका क्रममा उक्त प्रतिज्ञा गरेका हुन्। ह्यारी उक्त च्यारिटीको संरक्षक हुन्। उक्त च्यारिटीले प्राकृतिक विपत्तिपछि आपतकालिन सहयोग र उद्दारमा सघाउने गर्छ।

ह्यारीले म्याप एक्सनका प्रमुख कार्यकारी लिज ह्युजेज्, स्वयंसेवकहरु क्रिष्टी फर्नस्, वाइ मिङ लि, हिमनदी वीज्ञ ह्यामिस प्रिटचार्डसंग छलफल गरेका थिए । ह्यामिसले भूकम्प लगत्तै नेपाल गएर दि ब्रिटिश अन्टार्टिक सर्भेमार्फत स्वयंसेवा गरेका थिए । छलफलमा ह्यामिसले ह्यारीसंग भूकम्पछि काठमाण्डूका सडकमा डुलेर त्यहांको विनाश नजिकबाट भोगेको अनुभव सुनाएका थिए।

अनौपचारिक पोशाक र बुटमा आएका ह्यारीलाई उक्त च्यारिटीका स्वयंसेवकले नेपालको बेलिविस्तार लगाएको डेली मेल अखवारले उल्लेख गरेको छ । उक्त च्यारिटीले मनसुन सुरु भएपछि पुनर्निर्माण सहज नहुने पनि अवगत गराएको छ। म्याप एक्सनले भूकम्प लगत्तै संकलन गरेको तथ्यांक टेबलमा राखेर देखाउँदा ह्यारी प्रभावित भएको समाचारमा उल्लेख छ।

राजकुमार ह्यारीले यही मार्च १९ देखि २३ सम्म नेपाल भ्रमण गर्दैछन् । ह्यारीले भ्रमणका सिलसिलामा सकेसम्म धेरै नेपालीसँग साक्षात्कारगर्न चाहेका छन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ मनाइरहंदा ह्यारीको भ्रमणले आपसी सम्वन्ध अरु प्रगाढ हुने विश्वास गरिएको छ ।ह्यारीले राष्ट्रपति देखि विभिन्न नेताहरुसंग भेटघाट, बर्दिया राष्ट्रिय निकुन्ज भ्रमण, ऱ्याफ्टिङ, पदयात्रा, पोखराको ब्रिटिश गोर्खा क्याम्प भ्रमण आदि गर्ने तय भएको छ ।
प्रकाशन मिति–२०७२ साल चैत्र ४ गते विहीवार ।