लण्डन। युरोपियन युनियन (ईयु) वाट बेलायत शुक्रबारवाट बाहिरिएपछि ईयुको सदस्यमा बेलायत कायम नै हुनुपर्ने आवाज बेलायतमा नै व्यापक रुपमा देखिएको छ। यसबारेमा पुनः जनमत संग्रहको आवश्यकता भएको र विहीवार भएको जनमत संग्रहमा विमति रहेको भन्दै निवेदन तयार भएको छ।

त्यसका लागि मात्र शनिवारसम्म आइपुग्दा १० लाख हस्ताक्षर संकलित भैसकेको छ। यस्तो निवेदनमा केवल एक लाख मात्र समर्थन जुटे पनि संसदले मान्यता दिनुपर्ने थ्रेसहोल्ड रहेको अवस्थामा अब यो बेलायती संसदको विचाराधिन बन्न पुगेको छ। निवेदन तयार पारेका विलियम ओलिभर हिलीले उल्लेख गरेका छन्, ‘कुल मतदाता संख्याको ७५ प्रतिशतभन्दा कमले मतदान गरेको अवस्थामा ६० प्रतिशतभन्दा कमले बहुमत पाएको स्थिती रहेकाले यस सम्वन्धि प्रावधानलाई विचार गर्दै तपसीलका हस्ताक्षरकर्ताहरू पुनः जनमतसंग्रह गराइयोस् भनेर माग गर्दछौं।’

UK out from Eyu.1

बिहीबारको चुनावमा केवल ७२.२ प्रतिशतले मतदान गरेका थिए र त्यसमा केवल ५२ प्रतिशतका आधारमा बहुमत कायम हुनपुगेको छ। गत वर्ष भएको संसदीय चुनावमा त्यहा ६६.१ प्रतिशतले मतदान गरेको भन्दा चाहिँ यसपटकको जनमतसंग्रहमा उत्साहजनक उपस्थिति देखिएको हो। यस्तो अवस्थामा हिलीले ७५ प्रतिशत जनमत आउनै पर्ने थ्रेसहोल्डको माँग हिली स्वयंले गरेका हुन्। सन् २०१४ मा भएको स्कटिस स्वतन्त्रतासम्बन्धि जनमतसंग्रहमा ८४.६ प्रतिशत मत खसेको थियो।

१९९२ पछिको आजसम्म कुनै पनि आमचुनावमा भने ७५ प्रतिशतभन्दा बढी भोट खसेकै छैन। निवेदन राखिएको साइटमा आजसम्मकै सर्वाधिक भिजिटर संख्या भएको कारणले त्यो साइट नै डाउन भएको बेलायतको तल्लो सदनकी प्रवक्ताले जनाएकी छिन्। सदनमा आउने निवेदनलाई हेर्ने बेग्लै कमिटी रहेको छ जसले एक लाखभन्दा बढी हस्ताक्षर जुटाउनेबित्तिकै यस सम्बन्धमा संसदमा कुरा उठाउने वा नउठाउने भन्ने विषयमा निर्धारण गर्छ। कमिटीको बैठक मंगलबार बस्ने भएको छ।

यसै परिणामको प्रतिक्रियामा लण्डनका मेयर सदिक खानलाई पठाइएको एउटा अर्को निवेदनमा पनि एक लाखभन्दा बढी हस्ताक्षर जुटिसकेको छ, जसमा राजधानी लण्डनलाई बेलायतभन्दा अलग पारेर युरोपियन युनियनमा गाभ्नुपर्ने राय त्यहाँका नागरिकहरूद्वारा दिइएको छ। उक्त निवेदन दर्ता गर्ने जेम्स ओमालीले लण्डन एक अन्तर्राष्ट्रिय सहर रहेको र आफूहरू युरोपको मुटुकै रुपमा कायम रहन चाहेको उल्लेख गरेका छन्।
प्रकाशन मिति–२०७३ साल असार ११ गते शनिवार ।