लण्डन। भूतपूर्व गोर्खा सैनिकका लागि बेलायत सरकारले विशेष राहत प्याकेज घोषणा गरेको छ। लण्डनस्थित नेपाली दूतावासका अनुसार बेलायतले बिहीबार भूतपूर्व गोर्खाका लागि ४६ मिलियन पाउण्ड अर्थात् ६ अर्ब ७० करोड रुपैयाँ बराबरको राहत प्याकेजको घोषणा गरेको हो।

बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीको सक्रियतामा गठित त्रिपक्षीय (नेपाली दूतावास, आन्दोलनरत भूपुगोर्खा र बेलायत सरकार) प्राविधिक समितिले गरेको सिफारिसको आधारमा सो घोषणा गरिएको हो। गत महिनामा मात्र बेलायतका रक्षा राज्यमन्त्री मार्क लांगास्टर नेपाल भ्रमणबाट फर्किएपछि सो राहत प्याकेज घोषणा गरिएको हो।

प्याकेजमा गोर्खा पेन्सनबापतको रकम यसअघि भारतको बैंक हुँदै नेपाल पठाइने व्यवस्था रहेकोमा अबदेखि सीधै नेपालका बैंकिङ सेवामार्फत पठाइने उल्लेख छ। यस्तै कम पेन्सन पाउने भूतपूर्व गोर्खाले समेत वार्षिक ७ लाख ३० हजार रुपैयाँ पाउनेछन्।

भूतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवारलाई सहज तवरले औषधोपचारको व्यवस्था गर्ने, ८० वर्ष पुगेका भूतपूर्व गोर्खाहरुलाई पेन्सनमा विशेष वृद्धि गरिनेलगायत व्यवस्था पनि राहत प्याकेजमा छ।

प्रकाशन मिति–२०७५ साल फागुन २३ गते विहीवार ।