काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भनेर लामो समयदेखि जारी लकडाउनका कारण साना तथा ठूला सवारीधनी तथा सवारी चालकहरु ज्यादै मारमा परेका छन्।

असार १ गतेवाट लकडाउन खुकुलो पारेपछि ट्याक्सी चलाउन खुल्ला गरेतापनि ठूला सवारी साधन भने चलाउन दिएको छैन्। यद्यपि, ट्याक्सी सहज र सरल रुपमा चलाउन नपाएर आम्दानीको स्रोत बन्द भएको भन्दै काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।

ट्याक्सी व्यवसायीहरुले रोगले नभइ भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेको तर सम्बोधन नभएपछि आफूहरु आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरुले बताएका छन्। लकडाउन लम्बिँदा कमाई रोकिएको भन्दै ट्याक्सी चालकहरु मंगलवार बिहानै आन्दोलनमा उत्रिएका छन्।

रोगले भन्दा भोकले मर्ने अवस्था आयो सरकार काम गरी खान देउ, बैंकले गाडी खोस्ने अवस्था आयो सरकार भन्दै उनीहरुले काठमाडौंको नयाँ बनेश्वरमा प्रदर्शन गरेका हुन्। अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समिति र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज आन्दोलनमा उत्रिएका हुन्।


प्रकाशन मिति–२०७७ साल असार १६ गते मंगलवार ।