काठमाडौं। भक्तपुर, बोडेको विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रामा मध्यपुरथिमि ८ बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सातौं पल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४७ वर्षीय श्रेष्ठले यसअघि २०६२ देखि २०६५ सम्ममा ४ र २०७४, २०७५ मा गरी छैटौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

जिब्रो छेडाउने व्यक्तिले तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेड्ने चलन छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेडदा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ ।

विशेष पहिरन र खुट्टामा तान्क्रिक घण्टी (घुंग्रु) लगाई जिब्रो छेड्नुअघि शत्तिपीठहरूको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ । वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्च बनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिं बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । जिब्रो छेडेर नगरपरिक्रमा गराए देशमा दुःख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने जनविश्वास छ ।

हालसम्म क-कसले जिब्रो छेडाए भन्ने तथ्यांक नभएपनि पछिल्लो तथ्यांकअनुसार हर्क नरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेवकिला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्रबाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धचन्द्र बाग श्रेष्ठले ६ र जुजुभाइ बास श्रेष्ठले ८ पल्ट जिब्रो छेडेका छन् ।
भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुरथिमि ८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ।
प्रकाशन मिति–२०७५ चैत्र ३० गते शनिवार ।