काठमाडौं। भिजिट नेपाल २०२० भ्रमण बर्षलाई सार्थक पार्नका लागि काठमाडौंको चन्द्रागिरि नगरपालिका स्थित बोसिगाउंमा परम्परागत सांस्कृतिक संगीतमय कार्यक्रम भएको छ।

बोसिगाउंको ज्ञानमाला बाँसुरी खलः तथा सांस्कृतिक संगीत केन्द्रको आयोजनामा साउण्डस अफ स्प्रिङ सेलेब्रेसन एण्ड कोलाव्रोसन नाम राखेर बाँसुरीका गुरु सञ्जय महर्जनको संयोजकत्वमा गजबको बाँसुरीमय परम्परागत सांगीतिक कार्यक्रम शनिवार भएको हो।

विश्वव्यापी रुपमा नेपाली मौलिक लोकसंगीत प्रचार गर्ने उदेश्यले दक्षिण अमेरिका चिली बाट नेपाल भ्रमणमा आएका संगीतकर्मीहरुसंगको सहकार्यमा वसन्त धुन तथा अन्य सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए।

बोसिगाउं सांगीतिक उत्सवका रुपमा मनाएको कार्यक्रममा ज्ञानमाला फोक इन्स्टुमेन्टल व्याण्ड, करुणा ज्ञानमाला भजन खलः, ज्ञानमाला बाँसुरी खलः तथा वरिष्ठ गायक तथा संगितकार कोकिलमान महर्जनका मायाबी सांगीतिक प्रस्तुतिहरुले उत्सवलाई महाउत्सव बनाएको थियो। विशेष प्रस्तुतिका रुपमा चिलीबाट आएका संगितकर्मी थोमस गुबेरनाटिज र मोया निकोल्सको मन्त्रमुग्ध धुनले सवैको मन छोएको थियो।

संविधानसभा सदस्य अंजना बिसंखेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, वरिष्ठ बाँसुरी तथा वाध्यवादन गुरु धर्म मुनिकार, नेपाल साँस्कृतिक कला मन्दिर मच्छेगाँउका अध्यक्ष रमेश शाही, सल्लाहकार अच्युत अधिकारी, जनप्रतिनिधि तथा अन्य विशिस्ट अतिथिहरुको उपस्थितिमा ज्ञानमाला बाँसुरि खलःमा बाँसुरी प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र पनि प्रदान गरिएको थियो।

साथै वरिष्ठ संगितकार तथा समाजसेवी तेजमान बज्राचार्य, वरिष्ठ गायक तथा संगितकार कोकिलमान महर्जनलाई ज्ञानमाला बाँसुरी खलःका संस्थापक तथा कजि शम्भु महर्जनले सम्मान–पत्र प्रदान गरेका थिए।
प्रकाशन मिति–२०७६ साल फागुन ४ गते आइतवार ।