काठमाडौं। काठमाडौंको घनाबस्तीलाई मध्यनजर राखेर काठमाडौं महानगरपालिकाले नयाँ महानगर दमकल सेवा प्रारम्भ गरेको छ। काठमाडौं महानगरपालिका वडा नंबर ६ स्थित बौद्ध रामहिटीमा उक्त नयाँ महानगर दमकल सेवा विस्तार भएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विस्तारित नयाँ दमकलको शनिवार काठमाडौंको रामहिटीमा उदघाटन गरेका हुन्।
काठमाडौंका सम्भावित आगोजन्य बिपद् व्यवस्थापन गर्न क्षेत्र बिस्तार गरिएको मेयर शाक्यले उदघाटन समारोहमा बताएका छन्।

६० मिटर अग्लो ल्याडर (भ-याङ्) र ६ हजार लिटर पानी ट्याङ्की क्षमता भएको दमकल गरी ३ वटा अत्याधुनिक उपकरण खरिद प्रक्रियामा रहेको जानकारी पनि मेयर शाक्यले दिएका छन्।

महानगरको २५ औं बार्षिकोत्सवको अवसर पारेर वडा ६ को रामहिटीमा नवनिर्मित महानगर वारुण यन्त्र तथा तालिम केन्द्र भवनको उद्घाटन भएयता यसको लाभ महानगरको उत्तरी क्षेत्रसँगै छिमेकी गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंकरापुर र बुढानिलकण्ठ नगरले पनि पाउने भएको छ।

अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाका अनुसार महानगर वारुण यन्त्र तथा तालिम केन्द्रमा एउटा दमकल, एउटा ल्याडर र एउटा रेक्क्यु जीप र २ वटा फायर बाइक राखिएका छन्। यी उपकरण सञ्चालन गर्न १५ जना अग्नि नियन्त्रक २४ सै घण्टा तैनाथ गरिएको छ।


प्रकाशन मिति–२०७६ साल मंसिर २८ गते शनिवार ।