Rio Olympicकाठमाडौ। फुटबलका विश्व सम्राट पेलेको देश ब्राजिलको रियो दि जेनेरियो शहरमा रहेको माराकाना रंगशालामा रियो ओलम्पिकको भव्यताका साथ उदघाटन भएको छ। रियो अन्तर्गत फुटबलका खेल दुई दिन अघिदेखि नै सुरु भएपनि विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकको औपचारिक उदघाटन समारोह नेपाली समय अनुसार आज बिहान सुरु भएको हो।

दुई सय ६ देश र एउटा शरणार्थी टिमका खेलाडीले विभिन्न २८ खेलका स्पर्धामा पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिक सुरु हुनु पूर्व रुसको डोपिङ, जिका भाइरसको संक्रमण तथा आयोजना स्थललको सुरक्षा तथा भौतिक पूर्वाधारको निर्माणको विषयले विवाद भएको थियो । तर अन्ततः ब्राजिलमा रियो ओलम्पिक सुरु भएको छ।

Rio Olympic 1

दक्षिण अमेरिकामा पहिलो पटक हुन लागेको रियो ओलम्पिकका खेल चार ठाउँमा हुनेछन्। डियोडोरु, बारा, कोपाकबाना र माराकाना रंगशालामा ओलम्पिकका खेल हुनेछन्। यस ओलम्पिकमा भाग लिएको शरणार्थी टिममा १० खेलाडी छन्। दक्षिणी सुडानका पाँच, सिरियाका दुई, कंगोका दुई तथा इथियोपियाका एक खेलाडी छन्। यो टिमले ओलम्पिक झण्डाअन्तर्गत भाग लिनेछ। यो ओलम्पिकमा एक सय १२ वर्ष पछि गल्फको पुनरागमन भएको छ।

यो ३१ औं ओलम्पियाड भनिएपनि २८ औं आयोजना हो। सन् १९१६, १९४० र १९४४ मा विश्व युद्धका कारण खेल हुन सकेको थिएन। पाँच सय ५४ जना खेलाडीसहित भाग लिएको अमेरिका सबै भन्दा ठूलो टिम हो। यो ओलम्पिकमा विश्वभरका १० हजार पाँच सय खेलाडी सहभागी हुँदैछन् । सन् २००० पछि जन्मिएका खेलाडीले यो ओलम्पिकबाट सहभागिता जनाउँदै छन्।

नेपालकी १३ वर्षकी पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिकमा भाग लिने सबैभन्दा कम उमेरकी खेलाडी हुन् । रियोमा नेपालबाट पाँच खेलमा सात खेलाडीले भाग लिंदैछन्।
प्रकाशन मिति–२०७३ साल साउन २२ गते शनिवार ।