काठमाडौं। नेपाल सरकारले तीन वर्षअघि अर्थात् २०७३ साल साउनमा नेपालको जेठो वीर अस्पताललाई अत्याधुनिक सेवा सुविधासहित भक्तपुरको दुवाकोटमा विस्तार गर्ने निर्णय गरेतापनि त्यो निर्णयले सार्थकता पाउन सकेको छैन्। भक्तपुरको दुवाकोटको ५ सय रोपनी जग्गामा वीर अस्पताललाई विस्तार गर्ने निर्णय भएतापनि हालसम्म विस्तार गर्ने कार्य भएको छैन्।

वीर अस्पताल विस्तारका लागि भने भक्तपुरको दुवाकोटमा सरकारले ५ सय रोपनी जग्गा अस्पतालको नाममा पास पनि गरिसकेको छ। तीन बर्षयता बर्षेनी सरकारले वीर अस्पतालका भक्तपुरको दुवाकोटमा विस्तारको लागि बजेट राख्ने गरेतापनि सरकारले बनाउने या विदेशी सहयोगमा निर्माण गर्ने भन्ने व्दिविधामा निर्माण शुरु हुन नसकेको सरोकारवालाहरुको भनाई रहेको छ।

६ वर्षभित्र निर्माण गरी सक्ने गुरुयोजना सरकारले तयार पारेको थियो। तर योजना बनाएको ३ वर्षसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बन्न सकेको छैन्। डीपीआर बनाउन सरकारले चालू आर्थिक वर्षका लागि १५ करोड विनियोजन गरेको थियो। तर, त्यसको कुनै काम नभएपछि रकम फ्रिज हुने क्रममा रहेको छ।

वीर अस्पताल विस्तार गर्न सरकारले आगामी आर्थिक बर्षका लागि ४० करोड विनियोजन गरेको छ। तर अत्याधुनिक सुविधा सम्पन भवन बनाउन भने ३६ अर्ब लाग्ने अनुमान छ। भक्तपुर दुवाकोटमा वीर अस्पताल विस्तार हुन ढिलाई भएतापनि वीर अस्पताल रहेको काठमाडौं महाबौद्धमा अस्पताल कर्मचारी निवास भत्काएर सोही स्थानमा अत्याधुनिक सुविधा सम्पन्न सात तल्ले वीर अस्पतालको अर्को नयाँ भवनको भने निर्माण शुरु भैसकेको छ।
प्रकाशन मिति–२०७६ साल असार ९ गते सोमवार ।