काठमाडौं। भक्तपुरको शान तथा गौरबको रुपमा रहेको विस्केट जात्राको रथ तान्ने क्रममा हानथाप नै हुने गरेको छ। तल्लो टोल र माथिल्लो टोलले आफ्नोतिर रथ ल्याउन गरिने प्रयासमा ढुंगा हानाहान नै हुने गरेको क्रम यो बर्ष पनि रोकिएन । भक्तपुरमा हिजो शनिवारदेखि शुरु भएको बिस्केट जात्रामा यसप्रकारको अप्रिय घटनाले निरन्तरता पाएको हो।

भैरवको रथ तान्ने क्रममा राति रथबाट झार्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ दिनसम्म भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। हिजो शनिबार अपरान्ह ४ बजेदेखि रथ तान्न शुरु भएको थियो।

अधिकांश रथबाट खसेर, रथ तान्ने क्रममा रथको चक्कामा परेर, डोरीबाट लछारिएर र राति ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेर घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीको भनाई छ। मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहीबेर ढुङ्गा हानाहान भएको थियो। स्थानीयवासले बीचमै छाडेको रथ आज आइतवार बिहान पुनः तानेर बिहान ८ बजे गःहिटी पु-याइएको छ।

रथलाई माथि लगे सुकुलढोकासम्म र तल लगे नासमना भन्दा वरैबाट फर्काएर दिउँसै गःहिटी रथ लैजाने नगरपालिकाको तालिका र आह्वानलाई स्थानीयवासीले बेवास्ता गर्दै मध्यरातिसम्म रथ तान्दा ढुङ्गा हानाहान भएको समाचार स्रोतको दावी रहेको छ।
प्रकाशन मिति–२०७७ साल चैत्र २९ गते आइतवार ।