काठमाडौं। त्रेता युगमा भगवान श्रीराम र देवी सीताको विवाह भएको आज विवाह पञ्चमी । प्रत्येक बर्ष मंसीर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमीको रुपमा मनाउने क्रममा मर्यादापुरुष श्रीराम र आदर्श नारी सीताको पूजा आराधना गरी आज विवाहपञ्चमी पर्व मनाउने कार्य भएको छ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा सीता र रामको विवाह महोत्सव विधिपूर्वक मनाउने कार्य हुने गर्दछ। विवाह महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्‍याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ। रंगभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ।त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ ।

त्यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ। विवाह पञ्चमीको दिन विवाह तथा मांगलिक कार्य गर्न कुनै साइत हेर्न नपर्ने जनविश्वास छ।


प्रकाशन मिति–२०७७ साल पुस ४ गते शनिवार ।