काठमाडौ। स्थानीय चुनावमा सर्वाधिक चर्चा तथा विवादको विषय बनेको चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिए पछिको विवादलाई सर्वोच्च अदालतले टुंगो लगाएको छ। लामो समयदेखि पुनः मतदान कि मतगणना भन्ने विवादले अन्योलग्रस्त बनेको विषयमा लामो बहसपछि सर्वोच्च अदालतले आइतबार टुंगो लगाएको हो।

Bharatpur Metropolitan City Ward No. 19करिब दुई महिना लामो सुनुवाईपछि आइतबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनः मतदान गर्न आदेश दिएको हो । सर्वोच्च अदालतले यसअघि निर्वाचन आयोगले गरेको पुनःमतदानकै निर्णयलाई सदर गर्ने फैसला सुनाएको हो। भरतपुर महानगर वडा नम्बर १९ का सम्पूर्ण मतपत्र अवैध घोषित गर्दै निर्वाचन आयोगले पुनः मतदान गर्ने विषयमा गरेको निर्णयलाई सदर गरेको हो । 

स्थानीय तह निर्वाचन ऐन, २०७३ ले मतपत्र च्यातिएको अवस्थामा पुनः मतदान गर्नुपर्ने कानुनी व्यवस्था अनुसार सर्वोच्चले फैसला गरेको हो । ऐनको दफा ४९ मा उक्त व्यवस्था समेटिएको छ। निर्वाचन ऐन दफा ४९ को (१) मा भनिएको छ, ‘मतगणना पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग गरिएको मतपत्र, मतपत्र रहेको मतपेटिका निर्वाचन अधिकृतको यिन्त्रणबाट गैरकानुनी तवरले अन्यत्र लगिएमा वा खोलिएमा वा नोक्सान गरिएमा वा तोडफोड गरिएमा वा हराएमा वा दुर्घटनावश नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ।’

४९ कै उपदफमा भनिएको छ, ‘उपदफा (१) बमोजिम मतगणनाको काम स्थगित गरिएपछि आयोगले त्यस्तो मतदान केन्द्रको सम्पूर्ण मतदान अवैध भएको घोषणा गर्नेछ र आयोगको निर्देशनमा निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रमा पुनः मतदान गर्ने स्थान, मिति र समय यथाशिघ्र तोकी सूचना प्रकाशन गर्ने छ।’
भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल र एमालेका यर उम्मेदवार देवी ज्ञवालीबीच चर्को प्रतिस्पर्धा हुँदै गर्दा मतगणना स्थगित भएको थियो।

Renu & Deviनिर्वाचन आयोगले पुनः मतदान गर्न दिएको आदेश विरुद्ध भरतपुर १९ मा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेपछि मुद्दामा अदालतले हाललाई जे जस्तो अवस्थामा छ सो अवस्थाबाट अगाडि नबढाउनू भनी आदेश दिएपछि प्रक्रिया रोकिएको थियो। त्यसपछि पटक पटक पेशी तोक्दै आएको अदालतले आइतबार मात्र फैसला गरेको हो। अव भरतपुर महानगरपालिका वडा नंबर १९ मा पूनः निर्वाचन हुने भएको छ।
प्रकाशन मिति–२०७४ साल साउन १५ गते आइतवार ।