काठमाडौं। बुनियाद गीतका लोकप्रिय गीतकार भरत बमजनको २५ बर्ष पुरानो हिट गीतको भिडियोले चार बर्षमा दुई लाख क्लबमा प्रवेश पाएको छ। चार बर्षअघि निर्माण भएको बैगुनी रहिछौ मायालु बोलको हिट गीत दुई लाख क्लबमा पुगेको हो।

नेपाली गीत–संगीतको क्षेत्रमा बेग्लै शालिन तथा सौम्य पहिचान कायम गर्दैआएका गीतकार बमजनको गीतको भिडियोले दुई लाख क्लबमा प्रवेश पाएको अवसरमा म्युजिक नेपालले त्यसवाट आर्जित रकमको प्रतिशतमा आउने रोयल्टी दिने कार्य भएको छ।

जसवाट आफूमा खुशीयाली छाएको गीतकार बमजनले भिजन संसार डटकमलाई जानकारी दिएका छन्। स्रष्टाको लागि रोयल्टी बापत एक रुपैया होस् या एक लाख त्यो अत्यन्त ठूलो पसिनाको कमाइ भएको प्रतिक्रिया पनि गीतकार बमजनले दिए ।

चर्चित गायक राजेशपायल राईको स्वर तथा बसन्त मुकारुङको संगीत रहेको गीतको भिडियोमा श्रीदेव भट्टराई, पुरुषोतम सानु र बर्षा चौलागाइको बेजोड अभिनय रहेको छ।

गीतकार बमजनको चार दशक लामो निरन्तर गीत लेखनको सिर्जनात्मक यात्राको टर्निङ प्वाइन्टको रुपमा रहेको यही गीत गायन पश्चात गायक राजेशपायल राईको सांगीतिक यात्राले अग्रता पाएको मानिएको छ। गीतको भिडियो निर्देशन दीपक समिरले गरेका हुन।

प्रकाशन मिति–२०७९ साल फागुन १८ गते विहीवार ।