काठमाडौं। भारतको चारधाम गयाको शिर नेपालमा नै रहेको छ। त्यो पनि काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनीमा रहेको छ। उत्तरबाहिनीको पवित्र गंगा बागमती उत्तरगया हो। जहाँ पवित्र बागमती उत्तरवाट दक्षिणतिर बहने गरेको छ। प्राय नदी उत्तरवाट दक्षिणतिर बहने गर्दछ भने, उत्तरगयामा बागमती दक्षिणवाट उत्तरतिर बहेको कारण यो पवित्र स्थानलाई उत्तरगया भनिएको हो। यस स्थानलाई भारतको चारधाम गयाको शिर पनि भन्ने गरेको हो।

यस स्थानमा भगवान राम र लक्ष्मणले तपस्या गरेको भनाई पनि रहेको छ। अनि राम–लक्ष्मणको रखवारी गर्न श्रीरामको महान भक्त हनुमानजीले पंचमुख रुप लिएको भएको कारण उत्तरगया पारि पंचमुखी हनुमानजीको मन्दिर पनि रहेको छ। पंचमुखी हनुमानजीको दर्शन गरेमा आंट, धैर्य र साहस बृद्धि हुने विश्वास गरिएको छ। माथितिर कान्ति–भैरब मन्दिर पनि रहेको छ।

यस पवित्रधाम उत्तरगयामा पुसको औशीमा पितृतर्पण गर्नेहरुको अत्यन्त भीड लाग्ने गर्दछ। यो बर्षको पुसको औशी पुस २१ गते शनिवार परेको छ। यस पितृतर्पणमा देश–देशावरवाट भक्तजनहरु आउने गर्दछ। यसदिन पितृको नाममा उत्तरगयामा एक अञ्जुली पानी मात्र तर्पण गरेपछि पितृले मोक्ष पाउने धार्मिक सामाजिक अभियन्ता श्रीकुमारी श्रेष्ठको भनाई रहेको छ। गोकर्णे औंशीमा गोकर्णमा मेला लागेजस्तै पुसे औंशीमा उत्तरगयामा मेला लाग्ने गरेको जानकारी पनि श्रेष्ठले भिजन संसार डटकमलाई दिएकी छन्।

यस दिन उत्तरगयामा पितृतर्पण गर्नेहरुको अत्यन्त भीड लागेको छ। विहान देखि अपरान्हसम्म पनि पितृको श्राद्ध गरेर पितृतर्पण गर्नेहरुको कमी भएको थिएन। यसै पुसे औंशीको उत्तरगयाको पवित्रधाममा बागमती सन्ध्या आरती कार्यक्रम पनि संपन्न भयो। गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा उपमेयर शान्ति नेपालको प्रमुख आतिथ्यतामा आरती कार्यक्रम संपन्न भएको हो। स्थानीय बागमती सन्ध्या आरती उप–समितिको आयोजनामा कार्यक्रम भएको थियो। जसमा गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको समेत आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सहयोग गर्ने भक्तजनहरुलाई विशेष सम्मान पनि प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७५ साल पुस २१ गते शनिवार ।