Nepal Rastra Bank
काठमाडौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा चिरन्जिवी नेपालले मूल्यबृद्धि दोहोरो अंकमा पुग्ने देखिएको बताएका छन् । भारतले लगाएको नाकाबन्दीको कारण उपभोग्य वस्तुको मूल्य आकाशिएको बताउंदै गभर्नर नेपालले मूल्यबृद्धि दोहोरो अंकमा जाने भनेका छन्।

‘चालु आर्थिक वर्षको साउन महिनाको तुलनामा असोज महिनामा मुल्यबृद्धि बढेको छ’, उनले भने,‘ कात्तिक महिनाको तथ्यांक आउदा यसमा यो अझै बढ्ने देखिन्छ।’ गभर्नर नेपालले विगतमा विदेशको विकास नीतिलाई जस्ताको तस्तै नेपालमा लागु गरिएको भन्दै त्यसलाई पुनरावलोकन गर्नुपर्ने अवस्था आएको बताए।

इन्डिेपेन्डेट बिजनेश न्यूजले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर नेपालले नाकाबन्दीको कारण बैकिङ क्षेत्रमा तरलता बढेको र त्यसलाई समाधान गर्न राष्ट्रबैंकले विभिन्न उपकरण ल्याएको भएपनि समस्या समाधान नभए वित्तीय क्षेत्रमा थप समस्या आउन सक्ने बताए।

नेपाल बैकर्स संघका उपाध्यक्ष रत्नराज बर्जाचार्यले पुस मसान्तको रिपोर्ट राम्रो नआउने बताए । ‘अहिले बैंकहरुको कर्जा प्रवाह ठप्प छ’,उनले भने,‘ सरकारको विकास खर्चको अवस्था राम्रो छैन । जसले सरकारी ऋणपत्र आउने सम्भावना छैन्।’

प्रकाशन मिति–२०७२ मंसिर २४ गते विहीवार ।