काठमाडौं। नेपाली नृत्यमा गोल्ड मेडलिष्ट समेत बनेर विश्वविख्यात बनिसकेका डान्सर स्वजन रघुबंशी यतिखेर भारतमा रहेका छन्।

भारतको बनारसस्थित काशी हिन्दू विश्वविद्यालयमा मास्टर इन परफर्मिङ आर्ट भरतनाट्यममा मास्टर डिग्रीको अध्ययनको सिलसिलामा गोल्डमेडलिस्ट डान्सर रघुबंशी त्यहाँ बसेका हुन्।

दुई बर्षको कोर्शको डिग्री हासिल गर्न काशी हिन्दू विश्वविद्यालयमा अध्ययनरत रहेका रघुबंशीले त्यहाँको विश्वप्रसिद्ध गूर प्रो.प्रेमचाद हम्बलसंग भरत नाट्यमका कठिन भन्दा कठिन नृत्यहरु सिक्ने कार्य भैरहेको जानकारी बनारसवाट रघुबंशीले भिजन संसार डटकमलाई दिएका छन्।

भारतको टप–थ्री विश्वविद्यालयको रुपमा रहेको काशी हिन्दू विश्वविद्यालयमा विभिन्न विधामा डिग्री गर्ने धेरै नेपालीहरु रहेको पनि रघुबंशीले भनेका छन्। नेपालमा एक से एक नृत्यका स्टेजमा चमत्कारिक नृत्य गरेर अत्यन्त चर्चा पाएका रघुवंशी कात्तिक नाचका अदभूत अवतार समेत हुन्।

जसको नृत्यमा आगो बल्ने गरेको छ। नृत्यका अत्यन्त ज्वलनशील माहिर कलाकार रघुबंशीको नृत्य कलाकारितामा बनारसका एक से एक गुरुहरु पनि लोभिएका छन्। उनीहरुले मुक्तकण्ठले कलाकार रघुबंशीको तारिफ गर्ने गरेका छन्।

बनारसमा अध्ययन गरेको ६ महिना नपुग्दै त्यहाँका विभिन्न स्टेजका कार्यक्रमहरुमा भाग लिएर सवैको वाहवाही पाइसकेका रघुबंशीले अवको डेढ बर्षपछि त्यहाँको डिग्री लिएर मात्र नेपाल फर्कने भएका छन्।

प्रकाशन मिति–२०७५ साल माघ १ गते मंगलवार ।