काठमाडौं। भारतको लोकसभा निर्वाचनमा बलिउडका केही चर्चित अनुहारको शानदार जित भएको छ भने, केहीको नराम्ररी पराजय पनि भएको छ। शानदार विजयी बन्ने बलिउडका ख्यातिप्राप्त अनुहारहरुमा हेमामालिनी, सन्नी देवल लगायत रहेका छन्। पराजित बन्ने बलिउडका ख्यातिप्राप्त अभिनेता शत्रुघन सिन्हा, राज बब्बर देखि अभिनेत्री जयाप्रदा तथा रंगिला गर्ल उर्मिला मातोडकरसम्म रहेका छन्।

बलिउडका ख्यातिप्राप्त अभिनेता सनी देओल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए। उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीको उम्मेदवारका रुपमा पञ्जावको गुरुदासपुर क्षेत्रको चुनावी मैदानमा होमिएका थिए। विपक्षी दल कांग्रेसले राम्रो नतिजा ल्याएको सो प्रदेशमा भारतीय जनता पार्टीबाट विजयी हुने चार सांसदमध्ये सनी देओल एक हुन्। उनले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १०७ मतले पराजित गरेका थिए।

बलिउडमा एक जमानामा ‘ड्रिम गर्ल’ उपनाम पाएकी हेमामालिनी पनि भारतीय जनता पार्टीबाटै निर्वाचित भइन्। उनी मथुरा क्षेत्रबाट उम्मेदवार भएकी थिइन्। उनले राष्ट्रिय लोकदल तथा गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ मतले पराजित गरिन् ।

बलिउड अभिनेता राज बब्बर लामो समयदेखि राजनीतिमा सक्रिय छन्। उनी कांग्रेसका उत्तर प्रदेश अध्यक्षसमेत हुन् । आगराको फतेहपुर सीकरी क्षेत्रबाट उम्मेदवार भएका उनी भारतीय जनता पार्टीका उम्मेदवार राजकुमार चहरसँग ४ लाख ९५ हजार ६५ मतले पराजित भए।

बलिउड नायिका उर्मिला मातोंडकर हालै राजनीतिमा प्रवेश गरेकी थिइन्। उनी कांग्रेस पार्टीबाट नर्थ मुम्बई क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । उनी पनि नराम्ररी पराजित भइन्। उनलाई भारतीय जनता पार्टीका गोपाल शेट्टीले ४ लाख ६५ हजार २४७ मतले पराजित गरे।

चन्डीगढ क्षेत्रबाट उम्मेदवार बनेकी चरित्र अभिनेत्री किरण खेरले कांग्रेसका वरिष्ठ नेता पवनकुमार बंशललाई ४६ हजार ९७० मतले पराजित गरिन्। अभिनेत्री खेर भारतीय जनता पार्टीबाट निर्वाचित भएकी हुन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। अभिनेत्री जया प्रदा हालै भारतीय जनता पार्टीमा प्रवेश गरेकी थिइन् । यसअघि समाजवादी पार्टीमा रहेर राजनीति गर्दै आएकी उनी भारतीय जनता पार्टीबाट रामपुर क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । उनी समाजवादी पार्टीका नेता आजम खानसँग एक लाख ९ हजार ९९७ मतले पराजित भइन्।

बंगाली अभिनेत्री मुनमुन सेन आसनसोल निर्वाचन क्षेत्रमा बलिउडका हस्ती बाबुल सुप्रियोसँग पराजित भएकी छन् । त्रिणमुल कांग्रेसबाट उम्मेदवार भएकी मुनमुन भारतीय जनता पार्टीका उम्मेदवार सुप्रियोसँग करिब दुई लाख मतले पराजित भएकी हुन्।

भारतीय जनता पार्टीमा लामो समय राजनीतिक जीवन बिताएर हालै कांग्रेसमा प्रवेश गरेका अभिनेता शत्रुघन सिन्हाका लागि दल परिवर्तन गर्नु घातक सिद्ध भयो। उनले पटना साहिव निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टीका उम्मेदवार रविशंकर प्रसादसँग करिब तीन लाख मतले पराजय झेल्नु परेको छ।
(समाचार एजेन्सीको सहयोगमा।)
प्रकाशन मिति–२०७६ साल जेठ १६ गते विहीवार ।