–राजेश बज्राचार्य
ललितपुर। भारतको विहारमा अलपत्र परेका सात जना नेपाली बालबालिकालाई गैरसरकारी संस्था छोराछोरी नेपालले उद्धार गरि ललितपुर ल्याइएको छ। भारतको विहार राज्यको छपरा र मुजफ्फरपुरमा रहेको बाल गृह तथा बालिका गृहबाट ती सात जना बालबालिकालाई केन्द्रीय बाल कल्याण समिति, हरिहरभवनको समन्वयमा गैरसरकारी संस्था छोराछोरी नेपालले शुक्रवार उद्धार गरि काठमाडौं ल्याइएको हो।उद्धार गरिएकामा ४ जना बालक र ३ जना बालिका रहेका छन जसमध्ये बालकहरु सर्लाही जिल्लाको हरिवनका रहेका छन्। त्यस्तै रौतहट, जनकपुर र वीरगन्जका १–१ जना बालिका रहेका छन्। चारै जना बालकलाई बिहारको छपरास्थित बाल गृहबाट उद्धार गरिएको हो भने ३ जना बालिकालाई मुजफ्फरपुरको बालिका गृहबाट उद्धार गरिएको हो।

उद्धार गरिएका बालकहरु ११ देखि १५ वर्षका रहेका छन् भने बालिकाहरु ११ वर्षका एक जना र ९ वर्षका दुई जना रहेका छन् । दिल्लीमा काम गर्न भनी घरबाट भागेका चारै जना बालकलाई छपरा रेल्वे स्टेशनमा रेल्वे प्रहरीले नियन्त्रणमा लिइ बालगृहमा बुझाएका सूचनाका आधारमा सो स्थानबाट उद्धार गरि नेपाल ल्याइएको छोराछोरी नेपालका कार्यक्रम संयोजक अनिला डंगोलले जानकारी दिएकी छन् ।

अन्य ३ बालिकाहरु मध्ये दुई जना घरायसी काममा लगाउन बेचिएको र एक जना दाजुसँगै घरबाट भाग्दा छुट्टिएर अलपत्र परेको बुझिएको छ। बालबालिकालाई उद्धार गर्न छोरीछोरी नेपालका कार्यकारि निर्देशक शैलजा सि.एम.को नेतृत्वमा कार्यक्रम संयोजक अनिला डंगोल र सञ्चारकर्मी तेज नारायण महर्जनको टोली गत शनिबार नै बिहार पुगेका थिए।

उद्धार गरिएका बालबालिकालाई अहिले छोराछोरी नेपालको गोदावरी तौखेल स्थित अस्थायी सेल्टरमा संरक्षण गरि राखिएको छ। संयोजक डंगोलका अनुसार संस्थाको नियमानुसार उद्धार गरिएका सात जनालाई पुनस्र्थापनाको लागि एक हप्ता सेल्टरमै राखिनेछ भने सो अवधिमा उनीहरुलाई आवश्यक मनोसामाजिक काउन्सिलिंग गरेर अभिभावकको जिम्मा लगाइनेछ।

छोराछोरी नेपालले विगत ३ वर्ष देखि भारतमा अलपत्र परेका बालबालिकालाई उद्धार गर्दै आइरहेको छ। विसं. २०७३ चैतमा पनि संस्थाबाट भारतको दरभंगा र मुजफ्फरपुर बाल गृहबाट केन्द्रीय बालकल्याण समितिको समन्वयमा ३३ जना बालबालिकालाई उद्धार गरिएको थियो। संस्थाले हालसम्म १२२ जना बालबालिकाको उद्धार गरि पुनस्र्थापना गरिसकेका छन् ।
प्रकाशन मिति–२०७५ साल बैशाख १७ गते सोमवार ।