काठमाडौ। भारतको सर्वोच्च अदालतले ‘इच्छामृत्यु’लाई वैधता दिएको छ। केही निश्चित सर्त पालना गरेको खण्डमा बिरामीलाई कृतिम ढंगले जिवित राखिरहने उपचार बन्द गरि दिन सकिने फैसला सर्वोच्चले गरेको हो।

सर्वोच्च अदालतले स्थायी प्रकृतिका रोगको उपचारमा संलग्न बिरामीले इच्छामृत्युवरण गर्न पाउने फैसला गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ। स्थायी प्रकृतिका रोगमा उल्लेखित कडा निर्देशिकाहरु पालना गर्दै बिरामीलाई दिइएको उपचार रोकी मृत्युवरण सहज पारिन्छ। भारतीय सर्वोच्च अदालतले भनेको छ– ‘सम्मानका साथ मर्ने अधिकार मौलिक अधिकार हो।’

अदालतको फैसलामा इच्छामृत्यु चाहने व्यक्तिले कुनै गम्भीर प्रकृतिको रोगले पीडित भएको हुनुपर्ने उल्लेख गरिएको छ। इच्छामृत्युसम्बन्धी पत्रमार्फत् पूर्वजानकारीलाई अदालतले अनुमोदन गर्न सक्ने व्यवस्था गरिएको छ । यद्यपी कस्ता–कस्ता बिरामीले मृत्युवरण गर्न सक्छन् भन्ने चाहिँ स्पष्ट पारिएको छैन्।

क्यानडा, नेदरल्यान्ड, बेल्जियम, कोलम्बिया, लक्जमवर्गलगायत देश तथा अमेरिकाको क्यालिफोर्निया, वासिङ्टन, ओरेगन, मोन्टानालगायत राज्यमा इच्छामृत्युलाई कानूनी मान्यता रहेको छ। बेलायत, स्पेन, इटलीलगायत देशमा भने इच्छामृत्युको कानूनी वैधताबारे बहस जारी छ ।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल फागुन २६ गते शनिवार ।