KP Oli Birthday

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमण जारी भएकै बेला सोमवार भारतमा नै ६५ औ जन्मदिन र विवाहउत्सव मनाएका छन्। नयाँदिल्लीस्थित होटल ताजमा आयोजित कार्यक्रममा ओलीलाई बधाई तथा शुभकामना दिनेहरुको ओइरो नै लाग्यो। समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलमार्फत पुष्पगुच्छा पठाएर शुभकामना दिएका छन्। भारतीय राष्ट्रपति प्रणब मुखर्जीले फोन गरेर शुभकामना दिनुको अलावा आफ्नो सहयोगी मार्फत उपहार पठाइदिएका थिए।

KP sharm oli with Sushma Sworaj in India

यसैवीच प्रधानमन्त्री ओलीको जन्मदिनमा निक्कै रमाएकी भारतीय विदेशमन्त्री सुषमा स्वराजले ओलीलाई भाइ बनाएर आफू दिदी भएको समेत ठोकुवा गरेकी छन्। ओली भन्दा आफू आठ दिनले जेठी भएकोले आजको दिनवाट ओली मेरो भाइ र म ओलीको दिदी भएको नातासंवन्धलाई पनि चलाखीपूर्वक विस्तार गरेको पाइयो।

त्यतिले मात्र नपुगिकन भारत नेपालको दाजु भएको र नेपाल भाइ भएको समेत भन्न चुकिनन्। सोही समारोहमा नेपालका परराष्ट्र मन्त्री कमल थापाले ओलीलाई कलम उपहार दिएका थिए। ओलीको जन्मदिन र पत्नी राधिकासंगको विवाह उत्सवको अवसरमा सवैले बधाई तथा शुभकामना दिएका थिए। ६ दिने भारतको राजकीय भ्रमणमा पुगेका ओली फागुन १२ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।
प्रकाशन मिति–२०७२ साल फागुन १० गते सोमवार ।