काठमाडौ। भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका बाजपेयीको उपचारको क्रममा भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा बिहीबार अपराह्न निधन भएको हो।

गत जुनमा मिर्गौलामा संक्रमण भएपछि बाजपेयीलाई अस्पताल भर्ना गरिएको थियो। बाजपेयी सन् १९९६ मा १३ दिन, सन् १९९८ देखि १९९९ सम्म र सन् १९९९ देखि सन् २००४ मा गरी तीनपटक भारतको प्रधानमन्त्री बनेका थिए। बाजपेयी ‘भारत रत्न’लेसमेत सम्मानित व्यक्तित्व थिए।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाजपेयीको निधनले भारतमा एक युगको अन्त्य भएको प्रतिक्रिया दिएका छन्। बाजपेयी कवि, स्पष्ट वक्ता र समावेशी राजनीतिज्ञकारुपमा चिनिन्थे।

पत्रकारिताबाट पेसागत जीवन सुरु गरेका बाजपेयी पछि राजनीतिमा प्रवेश गरेर बाँचुञ्जेल राजनीतिमा नै विताएका थिए। (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल साउन ३१ गते विहीवार ।