काठमाडौ। भारतको विहार प्रहरीका लागि सुराकीको काम गर्दैआएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपाली विरुद्ध भारतमा मुद्दा चलाइएको छ। राससका अनुसार,मुद्दा चलाइएको थाहा पाएपछि सुस्ताबासी त्रसित भएका छन् । नेपालीहरूलाई डर, त्रास देखाइराख्न उनीहरूले मुद्दा चलाएको आरोप सुस्ताबासीको छ।

Susta Nepal India Boarderसुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु लोनियाको एक महिनाअघि बगाहाको नौरगिया कटाहाको खेतामा शव फेलापरेको थियो। सीमापारि भएको घटनामा सीमावारिका मानिसमाथि मुद्दा चलाइएको छ। विहारको बगाहा अदालतमा मुद्दा चलाइएको हो। मृतक लोनिया ससुरालीमा बसेर विहार पुलिसका लागि सुराकीको काम गर्दै आएको स्थानीयबासीले बताएका छन्।

सुस्तामा रहेका नेपालीका गतिविधि र दिनचर्याकाबारेमा उनले विहार प्रहरीलाई जानकारी दिने र नेपालीलाई भुठा आरोप लगाएर सताउने काम गर्दै आएको स्थानीय जनताको आरोप छ। गाउँका अगुवाभन्दा दोस्रो स्तरका मान्छेहरूविरुद्ध मुद्दा चलाइएको सुस्तेलीले बताएका छन्। १९ जनामध्ये समाजमा अगुवा देखिने युवा नै बढी रहेका छन्। क–कसलाई मुद्दा लगाइएको हो, त्योबारे भने स्थानीयबासीले बताउन चाहेनन्।
प्रकाशन मिति–२०७३ साल भदौ ८ गते बुधवार ।