काठमाडौं। भारतले नेपालको २ प्रतिशत भूमि मिचेको सरकारको ठहर रहेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालको करिब २ प्रतिशत भूमि भारतले मिचेको तथ्यांक सरकारसँग रहेको उल्लेख गर्दै त्यसलाई ऐतिहासिक तथ्यको आधारमा समाधान गर्न पनि नेपाल सरकार दृढ रहेको बताएका छन्।

नेपालको भूमि मिच्न नदिने सरकारको अडान यथावत रहेको पनि मन्त्री बाँस्कोटाको भनाई छ। भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्वीकार गरेको खुलासा पनि मन्त्री बाँस्कोटाले गरेका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले ती समस्या कूटनीतिक तथा राजनीतिक तहबाट समाधान गर्ने कामलाई सरकारले अघि बढाएको भनेका छन्। बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले एक पक्षीय रुपमा भारतले जारी गरेको राजनीतिक नक्सालाई नेपाल सरकारले अस्वीकार गरिदिएको बताए।

मन्त्री बाँस्कोटाले नेपालमा कुनै पनि प्रकारको आतंकवादी गतिविधि हुन नदिने प्रतिवद्धता पनि दोहोर्याए। नेपालमा आतंकवादी गतिविधिको सम्भावना बढेर गएको अमेरिकी सरकारको प्रतिवेदन सार्वजनिक भइरहेका बेला मन्त्री बाँस्कोटाले त्यस्ता खालका बाह्य वा घरेलु गतिविधि हुन नदिन नेपाल सरकार सचेत रहेको बताए।
प्रकाशन मिति–२०७६ साल कात्तिक २१ गते विहीवार।