काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए। ओलीले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ।’ पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको ओलीले भनेका छन्। यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको ओलीको जिकिर रहेको छ।

प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार गरेका छन्। सोही क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकार देखाउने राष्ट्रवादको पक्षमा नभई अनुभूत गर्ने राष्ट्रियताको पक्षमा रहेको दावी गरेका छन्।

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्शा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको पनि प्रधानमन्त्री ओलीले खुलासा गरेका छन्।

सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको भन्दै तथा कुनै तमासा गर्न लागिएको नभइकन यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो भनेर ठोकुवा गरेका छन्।

प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिइरहँदा सांसदहरुले ताली ठोकेर समर्थन गरेका थिए।
प्रकाशन मिति–२०७७ साल जेठ ६ गते मंगलवार ।