काठमाडौं। नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरिषा बस्नेतको भारतीय सिरियलमा कमब्याक भएको छ। तीन वर्षपछि भारतीय सिरियलमा नेपाली अभिनेत्री निरिषा बस्नेतको कमब्याक भएको हो।

निरिषाको केमियो भूमिका रहेको सिरियल ‘तेनाली रामा’ को बिहीवार प्रोमो सार्वजनिक भएको छ। जसमा निरिषाको चरित्रचित्रण गरिएको छ । प्रोमोमा भिन्न गेटअपमा देखिएकी निरिषा यो सिरियलमा चिनियाँ युवतीको भूमिकामा देखिएकी छन्। सिरियलको प्रोमोमा निरिषालाई चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्दै गरेको देख्न सकिन्छ।

सोमवार र शुक्रवार ‘सोनी सब’ बाट प्रशारण हुँदै आएको सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो। निरिषाले यसअघि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा पनि काम गरेकी थिइन् । यसमा उनको मुख्य भूमिका थियो।

यसपछि उनले नेपाल आएर चलचित्र ‘जानी नजानी’ मा काम गरेकी थिइन्। हाल भारतको मुम्बईमा बस्दै आएकी निरिषा बस्नेतले लकडाउनअघि एक साउथ फिल्म साइन गरेकी छन्। चाँडै नै उनले बलिउड फिल्ममा प्रवेश गर्ने तयारी पनि गर्दैगरेको समाचार स्रोतको भनाई छ।


प्रकाशन मिति–२०७७ साल भाद्र २१ गते आइतवार ।