दार्चुला। भारत, पिथौरागढका विभिन्न क्षेत्रबाट फर्किएका ३ सयभन्दा बढी नेपालीहरु दार्चुला पारी भारतीय सीमा धार्चुलामा अलपत्र परेकामध्ये तीनजना महाकालीमा हामफालेर पौडिएर नेपाल प्रवेश गरेका छन्।

त्यसरी, सोमबार दिउँसो तीनजना पौडेर नेपाल आएकोमा प्रहरीले तत्कालै पक्राउ गरी क्वारेन्टाइनमा पठाएको इमेज खबरमा उल्लेख रहेको छ। भारताका पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रबाट फर्किएका ३०० बढी नेपालीहरु तीन दिनदेखि महाकाली नदी पारी अलपत्र परेका हुन्।

कोरोनाभाइरसको संक्रमण फैलिएपछि भारत सरकार र राज्य सरकारले लकडाउन गरेका छन् भने नेपालमा पनि लकडाउन भएकाले उनीहरु प्रवेश गर्न नपाएका हुन्। देशभित्र छिर्न नपाएपछि उनीहरुले नाराबाजी गर्दै बसिरहेका छन्। तीन दिनको पैदल यात्रा गर्दै उनीहरु धार्चुला आइपुगेका हुन्। उनीहरुले चाउचाउ र बिस्कुट पनि किन्न नपाएको बताएका छन्।

त्यहाँ रोकिएकाहरुमा सबैभन्दा बढी बैतडीका रहेका छन् । यता, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सीमापारि रहेका नेपालीको उद्धारका लागि छलफल र परामर्श भइरहेको तर माथिको आदेश नेपाल प्रवेश गर्न नदिने भन्ने रहेकाले उतै व्यवस्था गर्ने कोशिश भइरहेको बताएका छन्।
प्रकाशन मिति–२०७६ साल चैत १७ गते सोमवार ।