काठमाडौं । इजरायलको इलियटमा आयोजित ७०औं मिस युनिभर्स २०२१ को उपाधि भारतकी हरनाज सन्धूले जितेकी छन् । भारतले २१ वर्षपछि फेरि यो उपाधि जितेको हो। यसअघि सन् २००० मा भारतबाट लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन्।

पञ्जाबकी २१ वर्षीया सन्धू मोडलिङका साथसाथै जनप्रशासनमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् । प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले सन्धूलाई ताज पहिराइदिएकी थिइन् । त्यस्तै पाराग्वेकी नादिया फेरेइराले फर्स्ट रनरअपको उपाधि जितिन् भने दक्षिण अफ्रिकाकी लालेला स्वानले सेकेन्ड रनरअपको उपाधि जितिन् ।

हरनाज सन्धूले यसै वर्षको अक्टोबरमा मिस युनिभर्स इन्डिया उपाधि जितेकी थिइन् । त्यस्तै सन् २०१९ मा मिस इन्डिया पञ्जाबमा विभिन्न विधामा उपाधि जितेकी थिइन् । उनले केही पञ्जाबी चलचित्रमा समेत काम गरेकी छन्।
प्रकाशन मिति–२०७८ साल मंसीर २८ गते मंगलवार ।