काठमाडौ। भारत नियन्त्रित कश्मिरमा बिहीबार कडा सुरक्षाका बीच पनि दोहोरो गोली हानाहान भएको छ। लासकार ए तोइबा नामक आतंककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि भारत प्रशासित क्षेत्र कश्मिरको सुरक्षा व्यवस्था गएको हप्तादिन भन्दा लामो समयदेखि कडा बनाइएको थियो। यद्यपि, बिहीबार बिहानैदेखि बडगाम जिल्लाको फाल्तिपुरामा सशस्त्र लडाकू र सीमा सुरक्षा बलबीच दोहोरो गोली हानाहान सुरु भएको बताइएको छ।

सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित कश्मिरमा आतंककारीले थप हिंसा मच्चाउन सक्ने अनुमानमा हप्तादिन अघिदेखि प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या यहाँ खटाइएको थियो। गत हप्तामात्र पनि सोही क्षेत्रमा नै सुरक्षाकर्मीको गोली लागेर उनीहरु मारिएका थिए। अर्ध सैन्यबल र ती आतंककारीबीच भएको दोहारो गोली हानाहानमा ती आतंककारी मारिएका सुरक्षा अधिकारले जानकारी दिएका छन्।

भारतीय प्रहरी कश्मिरका प्रवक्ताले जानकारी दिएअनुसार उक्त क्षेत्रमा निकै लामो समयदेखि उक्त आतंककारी समूहमा आवद्ध लडाकूहरुको क्रियाकलाप बढिरहेको थियो। भारतीय शहर मुम्बाइमा सन् २००८ मा भएको आक्रमणमा पनि यही लासकार ए तोइबा नामक आतंककारी संगठनको हात रहेको भारतले जनाउँदै आएको छ। यस आक्रमणमा परी १६६ व्यक्तिको मृत्यु भएको थियो भने अरु सयभन्दा बढी घाइते भएका थिए।

त्यसयता भारत सरकारले उक्त समूहलाई आतंककारी समूहका रुपमा व्यवहार गर्दै आएको छ। बिहीबारको सो गोली हानाहानबाट भएको क्षतिको बारेमा भने केही समाचार नआएको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर १४ गते विहीवार ।