काठमाडौं। भारत र चीन वीच सीमावर्ती क्षेत्रमा युद्ध भएको छ। पछिल्लो ४५ बर्षमा पहिलो पटक मानवीय क्षति हुनेगरी भिडन्त भएको बीबीसीले उल्लेख गरेको छ। जसवाट भारत र चीनबीच लद्दाखको सीमावर्ती क्षेत्रमा भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका छन्।

सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना एक कमाण्डरसहित २० जना मारिएको भारतीय सेनाले विज्ञप्ति मार्फत जानकारी दिएको खबर बीबीसीले उल्लेख गरेको छ। लद्दाखको पूर्वी क्षेत्रमा रहेको विवादास्पद सीमा क्षेत्र गलवान उपत्यकामा भएको भिडन्तमा चीनतर्फ कति क्षति भयो भन्ने चीनले केही खुलाएको छैन।

भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो। चीनले भने भारतीय सेना आफ्नो क्षेत्रमा अनधिकृत प्रवेश गर्दा भिडन्त भएको जनाएको छ।

भारतीय सेनाले मंगलबार अबेर राति वक्तव्य जारी गरेर भनेको छ, ‘भारत र चीनका सेना गलवान क्षेत्रबाट पछि हटेका छन्। जुन १५–१६ को राति (सोमबार राति) सो स्थानमा दुई देशका सैनिकबीच भिडन्त भएको थियो। भिडन्तको क्रममा १७ भारतीय सैनिक गम्भीर घाइते भएका छन्। शून्य डिग्री भन्दा तलको तापक्रम र अति अग्लो सो स्थानमा गम्भीर घाइते भएका ती १७ सैनिकको मृत्यु भयो। सो स्थानमा कुल २० भारतीय सैनिकको निधन भएको हो। भारतीय सेना देशको अखण्डता र सम्प्रभूता रक्षाका लागि प्रतिवद्ध छ।’

यसअघि भारतीय सेनाले सो भिडन्तमा आफ्ना एक सैन्य अधिकारी र दुई जवान मारिएको जनाएको थियो। समस्या समाधानका लागि दुई पक्षका उच्च सैनिक अधिकारीबीच वार्ता भएको पनि बताएको थियो।

लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भिडन्त भएपछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले मंगलबार सैन्य प्रमुखहरुसँग समीक्षा बैठक गरेका छन्। बैठकमा विदेश मन्त्री एस जयशंकर पनि संलग्न थिए। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पिपुल्स लिबरेशन आर्मी का पश्चिमी थिएटर कमाण्डका प्रवक्ता चाङ्ग शुइलीले भारतलाई आफ्ना सैनिकलाई रोकोस् र वार्ता मार्फत समस्या समाधानको मार्गमा आओस् भन्ने उल्लेख गरेका छन्। भारतीय सैनिकले आफ्नो वचन उल्लंघन गरेको उनको आरोप छ।

भारतीय सैनिकले एलएसी पार गरेर चिनियाँ सैनिकलाई उक्साएको र पहिले आक्रमण थालेको उनले दाबी गरेका छन्। उनले भारतले आफ्ना सैनिकलाई रोक्न र वार्ता मार्फत समस्याको समाधान खोज्न भनेका छन्।

भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो केही समयदेखि दुई देशका सेनाबीच तनाव हुँदै आएको छ। कम्तिमा पछिल्लो ४५ वर्षमा भारत–चीन सीमा विवादलाई लिएर भएको भिडन्तमा पहिलोपटक मानवीय क्षति भएको हो। यसअघि सन् १९७५ मा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षको एम्बुस आक्रमणमा भारतीय सैनिक मारिएका थिए।

यस्तै दुई पक्षबीच सन् १९६७ मा भिडन्त भएको थियो । १९७५ मा अरुणाञ्चल प्रदेशको एलएसी क्षेत्रमा पेट्रोलिङ्गमा रहेको भारतीय फौजमाथि चिनियाँ पक्षले एम्बुस प्रहार गरेको थियो। त्यसअघि सन् १९६७ मा नाथुला क्षेत्रमा दुई देशका सेनाबीच भिडन्त भएको थियो।


प्रकाशन मिति–२०७७ साल असार ३ गते बुधवार ।