Page No.4- China and Nepal 1काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विभिन्न प्रकारका सम्झौता भएका छन् । नेपालको लुम्बिनीसम्म रेलसेवा ल्याउने विषय सम्झौतामा परेको छैन । तर, दुवै देशका प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा भने रेल सेवा र इन्धन सम्झौता उल्लेख हुने भएको छ। सहमतिमा भएका विभिन्न बुदाहरुभन्दा पनि चीनले नेपालको लुम्बिनीसम्म रेल सेवा विस्तार गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखेको नेपालमा रहेको चिनियाँ दूतावासका एक अधिकारीले बताएका छन् ।

चिनियाँ दूतावासका अधिकारीका अनुसार अहिले पनि चीनको प्राथमिकता भारतसँगको व्यवसाय नै हो । नेपालसँगको व्यापारभन्दा पनि चीनले दोस्रो ठूलो जनसंख्या भएको भारतलाई आधार मानेर व्यवसाय गर्न खोजिरहेको छ । भारतको मध्यमस्तरको जनसंख्यालाई आधार मानेर उसले नेपालमा रेलसेवा बिस्तारको योजना बनाएको हो । भारतको दश प्रतिशत जनसंख्या मात्रै तिब्बत भ्रमण गराउन सके आर्थिक हिसाबले चीनलाई धेरै फाइदा हुने उसले अनुमान गरेको छ।

Page No.4- China and Nepal 3

तिब्बतको मानसरोवर भारतीयका लागि प्रमुख तीर्थस्थल हो । त्यसैले पनि लुम्बिनी हुँदै चीन जोड्ने गरी चीनले रेलमार्ग बनाउने कामलाई प्रमुखताका साथ अगाडि बढाएको चिनियाँ अधिकारीहरु बताउँछन् । उसले पहिलो चरणमा नेपाल सीमावर्ती रसुवाको केरुङ र दोस्रो चरणमा पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्ग जोड्ने चीनको तयारी छ । उता, भारतले पनि लुम्बिनीसम्म रेलमार्ग ल्याउने बताइसकेको छ ।
भारतले नेपालको विकासमा चासो दिंदै आन्तरिक राजनीतिमा खेलिरहेको महसुस गरेको चीनले पछिल्लो समय नेपालको भौतिक विकासलाई महत्व दिन थालेको छ।

चीनले पश्चिमा राष्ट्र र भारतले तिब्बत मामिलामा नेपालबाटै खेल्नसक्ने आशंकाले पनि नेपालसँगको सम्बन्ध राम्रो राख्न चाहिरहेको छ । त्यसैले पछिल्ला समय नेपालको सामाजिक–आर्थिक विकासलगायतका विषयमा चीनले सहयोगको प्रतिबद्धता जनाउन थालेको छ । त्यति मात्र होइन आफ्नो उपस्थिति देखाउनका लागि चीनले पछिल्लो समय नेपालका विभिन्न आयोजना तथा परियोजनामा समेत हात हालेको छ ।
अबका केही बर्षभित्रै चीनले नेपालसँग रेलमार्गले जोड्ने योजना तीव्र गतिमा अगाडि बढाएको छ ।

Page No.4- China and Nepal 5

यसअघि नै चीनको राज्य परिषद् मातहतको संस्थाका दक्षिण पूर्व अध्ययन केन्द्रका निर्देशक हु शिशेङले नेपालसँग अबका सात–आठ वर्ष्भित्रै रेलमार्ग जोडिने बताएका थिए। त्यसो त केही महिनाअघि नेपाल आएको चिनियाँ उच्चस्तरीय टोलीले रेलमार्गको भौगोलिक अध्ययनसमेत गरिसकेको छ । नेपालमा रेलमार्गको सम्भाव्यताका विषयमा समेत चीनले नेपाली अधिकारीहरुसँग छलफलसमेत गरिसकेको छ ।

तिब्बतका सरकार प्रमुख लियोसाङ जियाङ सुनले सिगात्सेबाट केरुङ हुँदै नेपालको लुम्बिनीसम्म रेलसेवा जोडिने बताएका समाचार संस्था सिन्ह्वाले जनाएको छ । उनले सिगात्सेसम्मको परियोजना तोकिएको समयभन्दा निकै अगाडि सम्पन्न भएकाले नेपाल सीमावर्ती क्षेत्रमा द्रूत गतिमा रेलसेवा पुग्ने र त्यसलाई नेपालको लुम्बिनीसम्म पु¥याउने उद्घोष गरेका छन् । भारतमा भाजपा नेतृत्वको सरकार आएपछि चीनले आफ्नो ध्यान नेपालतर्फ लगाएको छ । प्रधानमन्त्री बनेलगत्तै दुई–दुई पटक नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आफू अनुकूल हिंडाउन खोज्दा नमानेपछि नाकाबन्दी लगाएर जनजीवन अस्तव्यस्त बनाएका बेला चीनले भने त्यसको फाइदा उठाउने तयारी गरेको छ ।

Page No.4- China and Nepal 2

संयोग नै भन्नुपर्छ फागुन सातमा भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले ठिक एक महिना अर्थात् चैत सात गते चीनको भ्रमण गरेका छन् । फागुन आठमा भारतीय प्रधानमन्त्री मोदीलाई भेटेका ओलीलाई चीनले पनि चैत आठमै प्रधानमन्त्रीसँग भेटवार्ता गराएको छ । यसले पनि चीन र भारतबीचको प्रतिस्पर्धा देखिएको छ । चिनियाँ अधिकारीहरुका अनुसार नेपालमा कम्तीमा पनि सन् २०२० सम्ममा रेल ल्याउने गरी चीनले काम गरिरहेको छ । केरुङ–पोखरा–लुम्बिनी रेलमार्ग चिनियाँ सरकारको मुख्य प्राथमिकतामा छ । यसलाई काठमाडौंसँग जोड्ने विषयमा समेत चीन सकारात्मक भएको सरकारी अधिकारीहरु बताउँछन् ।

अहिले रेलसेवा सिगात्सेसम्म आइपुगेको छ । सिगात्से सगरमाथाको तिब्बतपट्टिको फेदीमा पर्छ । यो तिब्बतको दोस्रो ठूलो प्रशासनिक केन्द्र पनि हो। यहाँबाट नेपाल, भारत र भुटान नजिक पर्ने भएकाले चीन सरकारले यहाँबाटै सहायक मार्गहरु बिस्तार थालेको हो । नेपालमा मात्र होइन चीनले भारतको पश्चिम बंगाललाई पनि रेलमार्गले जोड्ने तयारी गरेको छ । तिब्बतको स्थिरता र क्षेत्रीय सुरक्षाका हिसाबले पनि यो रेलमार्गलाई चीनले प्राथमिकतामा राखेको छ । यसले तिब्बतको विकास हुने र स्वतन्त्र तिब्बत अभियान थाल्नेहरु सफल हुन नसक्ने गरी विकास निर्माणमा चीनले ध्यान दिएको छ ।

Page No.4- China and Nepal 6

चीनका तत्कालीन प्रधानमन्त्री बेन जिया बाओले नेपाल भ्रमणका क्रममा नेपालमा आर्थिक लगानी र रेलमार्ग बिस्तारको इच्छा व्यक्त गरेपछि चिनियाँ विकास नेपालमा बढिरहेको छ । स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माणमा लागेका चिनियाँ इन्जिनियरहरुले समेत रेलमार्गको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन चिनियाँ सरकारलाई बुझासकेका छन्। केरुङ नाका नेपालसँग रेलमार्ग जोड्नका लागि उत्तम रहेको सुझाव उनीहरुले बेइजिङ पठाएका छन् ।

नेपाल र चीनबीच रेलमार्गले जोड्ने योजना पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङले सन् १९६० मा राखेका थिए । त्यसपछि चीनको प्राथमिकतामा नेपाल परेको थियो । नेपालमा शान्ति प्रक्रिया शुरु भएपछि नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग चीन सरकारको उच्च नेतृत्वले भेटेर नेपाल सीमासम्म चिनियाँ रेल आउन लागेको औपचारिक जानकारी गराएको थियो । संविधानसभाको पहिलो चुनावपछि सरकारको नेतृत्व गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा तिब्बत लुम्बिनी रेलमार्गबारे औपचारिक छलफल भएको थियो ।

Page No.4- China and Nepal 1

भूकम्प र भारतीय नाकाबन्दीका कारण नेपालमा पर्यटन उद्योग धराशयी बनेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क हेर्ने हो भने नेपालमा सबैभन्दा बढी भारतीय पर्यटकहरु आउने गरेका थिए । तर, यो क्रममा भने भूकम्प र नाकाबन्दीपछि ब्रेक लागेको छ । तर, केही दिनअगाडि चिनियाँ पर्यटकको टोली नेपाल आएर नेपालको पर्यटन उद्योगमा सहयोग गरेको छ । साबिकको अवस्थामा नेपालमा भारतपछि चिनियाँ पर्यटक आउने गरेका थिए ।

भारतसँग रोटी र बेटीको सम्बन्ध रहेको भारतबाट नेपालमा सबैभन्दा धेरै पर्यटक आउनु सामान्य कुरा हो । तर, सन् २००२ पछि मात्र नेपाल भ्रमण थालेका चिनियाँ नागरिकहरुको रोजाइ बिस्तारै नेपालतर्फ मोडिन थालेको छ । चीनको राजधानी बेइजिङमा नेपालमा बनेको विश्वकै ठूलो काठको बुद्ध मूर्ति राखिएबाट के पुष्टि हुन्छ भने लुम्बिनीको प्रचारप्रसारमा ध्यान दिने हो भने सबैभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिन सक्छन् । पर्यटन बोर्डका अनुसार नेपालमा हरेक वर्ष चिनियाँ पर्यटक आउने क्रम बढिरहेको छ ।

हरेक वर्ष ३५ प्रतिशतले यो संख्या बढ्दै गएको बोर्डले जनाएको छ।
चीनका अधिकांश नागरिक बुद्ध धर्म मान्ने भएकाले उनीहरुले लुम्बिनीको भ्रमणलाई आफ्नो जीवनको एक अभिन्न अंग मान्ने गरेका छन् । तर, उनीहरुलाई अहिले पनि लुम्बिनी भारतमा पर्छ भन्ने भ्रम भारतले छरिरहेको छ । उनीहरुलाई बुद्ध र लुम्बिनीका बारेमा समेत जानकारी नभएकाले नेपालमा पर्यटक आवागमनमा समस्या भएको पर्यटन व्यवसायीहरु बताउँछन् । चीन संसारकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो। त्यसमध्ये सबैजसो बुद्ध धर्मका अनुयायीहरु छन् । त्यहाँको एक–दुई प्रतिशत जनसंख्यालाई मात्र नेपाल भ्रमण गराउन सके आर्थिक हिसाबले नेपालले फड्को मार्न सक्छ ।

जनसंख्याका आधारमै हेर्ने हो भने पनि सबैभन्दा बढी पर्यटक चीनकै रहेका छन् भने संसारमै सबैभन्दा बढी खर्चालु पर्यटक पनि चीनकै हुन् । नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले सरदरमा ९० अमेरिकी डलर खर्च गर्ने गरेको तथ्याङ्क छ । अरु देशका पर्यटकले सरदर ४३ डलर मात्र खर्च गर्ने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । तर, चिनियाँ पर्यटक भित्र्याउनका लागि नेपालमा चिनियाँ भाषाको पढाइ र दोभाषे उत्पादनलाई नेपालले बढावा दिनुपर्ने देखिएको छ । चिनियाँ रेल नेपालको लुम्बिनी आएमा नेपालले आर्थिक विकासमा फड्को मार्ने निश्चित छ ।
प्रकाशन मिति–२०७२ साल चैत्र १३ गते शनिवार ।