भक्तपुर। गएराति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर थिमी डुबानमा परेका छन्। हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ।

भूकम्पपीडितको शिविर पनि डुबानमा परेको छ। यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन्। मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन्।

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभटेनी सुपर मार्केटदेखि सामसुम कम्पनीसम्म पूरै डुबान परेका छन्। राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासीहरुको गुनासो रहेको छ।

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ। प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ।

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको छ। मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन्।

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ।


प्रकाशन मिति–२०७५ साल असार २८ गते विहीवार ।