ललितपुर। भूकम्पवाट अपाङ्गता हुन पुगेका र प्रभावित भएका अपाङ्गता भएका व्यक्तिहरुको अनुभव आदान–प्रदान कार्यक्रम भएको छ। ललितपुरको हरिहरभवन स्थित महिला तथा बालबालिका विभागको सभाभवनमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले भूकम्पको त्यो पीडाका बारेमा दिल खोलेर सवै समक्ष अनुभव आदान–प्रदान गरेका हुन्।

अपाङ्गमा मानव अधिकारका लागि अग्रणी संस्था स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुर (आईएल सेन्टर ललितपुर)को आयोजना तथा आम्दा जापानको सहयोगमा कार्यक्रम भएको हो। ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालको प्रमुख आतिथ्यतामा भएको भूकम्पको अनुभव आदान–प्रदान कार्यक्रममा अनुकला राई, राज आले, लक्ष्मीमाया थापा, दिनेश खड्का लगायतका अपाङ्गता भएका व्यक्तिहरुले विसं.२०७२ बैशाख १२ गते आएको महाभूकम्पको पीडा र त्यसले आफूहरुलाई पारेको समस्याका बारेमा खुलेर अनुभव आदान–प्रदान गरेका थिए।

कार्यक्रममा आम्दा जापानका नोजुमु निसिजिमाले अनुभव आदान–प्रदान कार्यक्रममा आम्दा जापानले नेपालमा आएको महाभूकम्पपछि अपाङ्गताको क्षेत्रमा तीनबर्षयता गरेको कार्यको विवरण पेश गर्दै अपाङ्गता अभिशाप नभइकन सामाजिक दृष्टिकोण अभिशाप भएको यथार्थता प्रस्तुति मार्फत पेश गरेका थिए। आयोजक आईएल सेन्टर ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले महाभूकम्पयता घरमा सिमित भएर धेरै समस्या भोग्दैआएका घरदैलो कार्यक्रम गरेर समाजमा दरिलो रुपमा प्रतिस्थापन गर्न सफलता मिलेको बताएका छन्।

अध्यक्ष श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुलाई घरभित्र लुकाएर राख्ने परम्पराले अपाङ्गहरुको हक तथा अधिकारको हनन भैरहेको जिकिर गर्दै त्यसो नगर्न सवैलाई अनुरोध गरेका थिए। आयोजक आईएल सेन्टर ललितपुरका महासचिव कृष्ण गौतमले कार्यक्रमको सहजता गर्दै आईएल सेन्टर ललितपुरले पूर्ण अशक्तता तथा अति अशक्त अपाङ्गता भएकाहरुलाई दौतरी परामर्श, भोलियन्टर मार्फत घरैमा गएर व्हीलचेअरमा राखेर नुहाई–धुवाई गरिदिने कार्यदेखि घरवाट वाहिरको समाजमा ल्याउने बाताबरण मिलाउने लगायतका अपाङ्ग अधिकार संवन्धी कार्य गर्दै आइरहेको बताएका छन्।

ललितपुर महानगरपालिकाका २९ वटै वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई आफ्नो संस्था सहयोग गर्न तत्पर रहेको समेत महासचिव गौतमले भनेका छन्। ललितपुर महानगरपालिकाभित्र मात्र ३ सय ९४ जना पूर्ण अपाङ्ग तथा १ सय ७० जना अति अपाङ्गता भएका व्यक्तिहरु रहेको ललितपुर महानगरपालिकाको तथ्याङ्कमा रहेको छ। कार्यक्रममा ललितपुर महानगरपालिकाका २९ वटै वडाका महिला वडा सदस्यहरुको सहभागिता रहेको थियो।


प्रकाशन मिति–२०७५ साल भदौ १ गते शुक्रबार ।