काठमाडौं। कोरोनाको महामारीको त्रासमा लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुलेलाई केन्द्रविन्दु वनाएर गएको भूकम्पले वितेको पाँचदिन देखि लमजुङलाई त्रस्त वनाइरहेकोमा आइतवारवाट शान्त भएको छ। पाँचदिन देखि भूकम्पको कारण अशान्त बनेको लमजुङ आइतवारवाट भूकम्पको पराकम्प आउन रोकिएपछि शान्त भएको हो।

लमजुङमा पाँचौ दिनमा भूकम्पको पराकम्प आउन रोकिएपछि मर्स्याङ्दी गाउँपालिकाका वासिन्दा सुरक्षित भएको महशुस गरेका छन्। जिल्लाको भुलभुले केन्द्रविन्दु बनाएर गत बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गए यता पटकपटक गरी शनिबार साँझ ६ बजेर १८ मिनेटसम्म नै धक्का गएपनि त्यसयता कुनै धक्का महशुस गरिएको छैन।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले विस्तारै भूकम्पको पराकम्प हराउँदै जाने जनाएको छ । लमजुङमा बुधबारदेखि शनिबारसम्मको अवधिमा १०० वटा सानाठूला भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्प विद् मुकुन्द भट्टराईले वताएका छन्।

त्यस्तै, चार रेक्टर भन्दा माथिका ६ वटा र सोभन्दा कमका ९४ वटा भूकम्प गएको उक्त केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लामा अन्तिम पल्ट शनिबार साँझ ६ बजेर १८ मिनेट जाँदा २ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता कुनै पनि भूकम्पको धक्का भने लमजुङ जिल्लावासीले गरेका छैनन् ।

स्थानीय वासिन्दा बुधबार रातिदेखि घर बाहिर सुत्न बाध्य थिए । रातिको समयमा समेत शुक्रबार रातिसम्म जिल्लामा पटकपटक भूकम्पको परकम्पन गएको थियो । जिल्लामा चार दिन र तीन रात पटक पटक भूकम्पको धक्का महशुस भइरहेको थियो ।

लमजुङमा भूकम्प जाँदा २०८ घर पूर्ण क्षति र २०० घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलको भनाई छ। उनका अनुसार जिल्लाका ६ जना घाइते भएका थिए। भूकम्प पीडितलाई तत्कालका लागि प्रशासनबाट केही राहत सामग्रीहरु पनि वितरण गरिएको छ ।


प्रकाशन मिति–२०७८ साल जेठ ९ गते आइतवार ।