काठमाडौं। भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता जुवान गुआइदोको समर्थकहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन्।
भेनेजुएलाको राजधानी कारागारमा भएका छुट्टाछुट्टै प्रदर्शनमा सहभागीहरुले आ–आफ्नो पक्षमा नाराबाजी गरेका थिए।

राष्ट्रपति निकोलस मादुरोका समर्थकहरुले विपक्षी नेता जुवान गुआइडोलाई विना कारण अरु देशले उचालेको आरोप लगाए।
उनीहरुले राष्ट्रपति मादुरोको समर्थनमा विशाल र्‍याली निकालेका छन्।

खाकी रंगको टिसर्टमा सडकमा उत्रिएकाहरुले निर्वाचनमा हारेका ब्यक्तिले आफूलाई राष्ट्रपति घोषणा गरेकोमा आपत्ति जनाउँदै उहाँलाई कुनै पनि हालतमा राष्ट्रपति मान्न आफूहरु तयार नरहेको बताए।

यता राष्ट्रपति मादुरोको बिरोधमा काराकासमै गुआइदोका समर्थकहरुले पनि विशाल प्रदर्शन गरेका छन्। उनीहरुले तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गर्दै र्‍याली निकालेका छन्।

निर्वाचन तत्काल घोषणा नभए मादुरोलाई सहयोग गर्न नसक्ने र आफैंलाई अन्तरिम राष्ट्रपति घोषित गरेका गुआइदोलाई नै समर्थन गर्ने चेतावनी दिएका छन्।

यसैबीच राष्ट्रपति मादुरो र भेनेजुएलाका सुरक्षा अधिकारीहरुबीच देशको वर्तमान स्थितिबारे छलफल भएको छ। त्यस क्रममा राष्ट्रपति मादुरोले आन्दोलनलाई नियन्त्रणमा लिन आग्रह गर्दै देशको सुरक्षा व्यवस्था झन कडा तुल्याउन निर्देशन दिए।
विपक्षी नेता गुआइदोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरे पनि सेना र प्रहरीले भने मादुरोलाई नै साथ दिएका छन् ।

गुआइदोलाई अमेरिका, क्यानडालगायतका राष्ट्रले समर्थन गरेका छन् भने मादुरोको समर्थनमा रुस, चीन, टर्की र मेक्सिको रहेका छन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल माघ २० गते आइतवार ।