काठमाडौ। बेलायतमा विगत १२ बर्षदेखि बस्दैआएकी गायिका देशु गोले यतिखेर नेपालमा गायनको पहिचान खोज्दै आएकी छन्। आफ्नो गायन कलालाई मलजल गर्ने प्रयासमा रहेकी छन्। गीत गाउन तथा गीत लेख्न असाध्यै मन गर्ने गायिका गोेलेको गायन यात्रा शुरु भएको धेरै बर्ष भएको छ।

यदाकदा बेलायतमा हुने स्टेज प्रोग्राम तथा साथीभाइ माझको मेहफिलमा मखमली स्वरवाट गीत गाउने गायिका गोलेको गीतमा खुशी भन्दा बढी गंभीरता पाउने गरिएको छ। गोलेको आवाजमा अरुणा लामा देखि अञ्जु पन्तसम्मका झझल्को पाइने गरेको छ।

सुदुरपूर्वी नेपालको भोजपुरको त्यो दूर दिङ्गलाको पहाडी कन्दरामा जन्मेकी अनि त्यही हुर्केकी गोलेलाई त्यही पहाडले गायिका बनाएको हो। अनि त्यही दिङ्गलाको गोरेटो अनि मनै लोभ्याउने हरिया पहाडले भावुकतामा गीतकार बनाइदिएको छ। कसैले पनि गीत गाउन तथा लेख्न गोलेलाई सिकाएको होइन्। आफै सिकेको हो। समयले सिकाएको हो। अनुभवले गायिका तथा गीतकार बनाएको हो।

यथार्थमा गोलेलाई उनकै जिन्दगीले स्रष्टा बनायो। सानो उमेरमा भएको त्यो विवाह अनि विवाहको लगतै ब्रिटिश गोर्खा फौजको फौजीसंगको विछोड र त्यो विछोडमा मिलनको आशामा लेखिएका प्रेम पत्र तथा त्यो पत्रको महिनौपछिको प्रत्युत्तरको निरन्तरताले नै गोलेले कलम चलाउन जानेकी हुन्।

फौजी श्रीमान पल्टनमा टोप चलाउने र नेपालवाट उही फौजीको जीवन संगीनी कलम चलाउने क्रम–उपक्रमसंगै दुवैको मिलनको बाटोले नै दुवैलाई सर्वसम्पन्न बनाएको हो। सन् २००५ मा हङकङ हुंदै बेलायतको आइडी बन्दै श्रीमानसंगै लण्डन पुगेकी गोलेले त्यहीवेलावाट गीत रेकर्ड गर्ने अवसर पाएकी हुन्। यदाकदा नेपाल आउने क्रममा कतिपय आफ्नै लेखनका गीतलाई रेकर्ड गर्दै गायन यात्रा शुरु गरेकी गोलेको गीतको संख्या लगभग १३ वटा पुगिसकेको छ।

ती गीतमध्ये शायद मलाई बनायो होला–दैबले, यो दिलको राजा, तिमीसंग बोल्दैमा यो मन खुशी हुन्छ, मनैमा राखे तिमीलाई, कस्तो भाग्य कोर्यौ दैब र कहिले पीडासंगै जस्ता बोलका गीतहरु हिट छन्।

मन छुने र मनलाई आकर्षित पार्ने गीत गुनगुनाउने सानैदेखिको बानीले गायिका बनेको र यसलाई निरन्तरता दिने प्रयासमा रहेकी उनको गीति एल्बम चाँडै आउने क्रममा रहेको छ। गीत र गीत गायन यतिखेर दुःख भुल्ने बाटो भएको र पीडा भुल्ने मल्हम भएको उनले भनेकी छन्।


प्रकाशन मिति–२०७४ साल चैत्र ३ गते शनिवार ।