काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष तथा सामाजिक अभियन्ता मोहन कुमार बस्नेतले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा लकडाउनले गर्दा भौकै परेका सयौं श्रमिक मजदुरहरुलाई सहयोग गरेका छन्। १३१ औं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा करिब ३०० जना श्रमिकहरुलाई विभिन्न खाद्यान्न सामाग्री अभियन्ता बस्नेतले वितरण गरेका हुन् ।

एक्सपोज नेपालकी सिईओ अर्चना बस्नेतका अनुसार, लकडाउनका कारण समस्यामा रहेका ज्यालादारी एवं स्वरोजगार श्रमिकहरुलाई श्रमिक दिवसको अवसर पारेर उनीहरुको घर घरमै पुगेर अभियन्ता बस्नेतले खाद्यान्न वितरण गरेका हुन। बस्नेतले लकडाउनका कारण दैनिक छाक टार्न गारो अवस्थामा पुगेको श्रमिकहरुलाई एक ट्रेड युनियनकर्मी भएको नाताले श्रमिक दिवसको दिन श्रमिकको दुःखमा सहयोग गरेको हो। मजदुरको पीडालाई नजिकबाट बुझेका बस्नेतले अहिले मजदुरहरु परेको सँकटको अबस्थामा सहयोग गर्दा सारा मजदुरहरुले तारिफ गरेका छन्।

आफुलाई दैनिक सयौ जनाको फोन आउने गरेको र मजदुरको दुःख सुनेर त्यसै बस्न नसकेको बताउँदै लकडाउनमा आफुले घर घर पुगेर सहयोग प्रदान गरेको जानकारी बस्नेतले दिएका छन्। बस्नेतले विभिन्न सामाजिक संघ संस्थामा नेतृत्व गरिसकेको र सामाजिक क्रियाकलापमा जहिले अगाडि सरि समाजलाई योगदान गर्दै आएका छन् । सामाजिक अभियान्ता बस्नेतले यस अघि पनि समस्यामा परेका नागरिक, वृद्ध आश्रम, बाल आश्रममा पनि विभिन्न खाद्यान्न सामाग्रीहरु निःशुल्क वितरण गरेका थिए ।
प्रकाशन मिति–२०७७ साल बैशाख २१ गते आइतवार ।