काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, निरङकुशतन्त्रको विकल्प र विधिको शासन भएको बताएका छन्। सैनिकमञ्च, टुँडिखेलबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छैठौ संविधान दिवसको अवसरमा हल्लाबाट प्रभावित हुने र जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र नभएको बताएका हुन।

प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्रमा असहमत स्वरहरुले स्थान पाउँछन्, पाउनु पर्छ। तर हल्लाबाट प्रभावित हुने र जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र होइन। लोकतन्त्र, निरङकुशतन्त्रको विकल्प हो र यो विधिको शासन हो। यो मर्यादित र अनुशासित प्रणाली हो।’

ओलीले सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त भएको बताएका छन्। ‘अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको छ।’ उनले भने ‘मैले पटकपटक भन्दै आएको छु–भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ।’ ओलीले भ्रष्टाचार बिरुद्धको सरकारको यस अभियानमा नियामक निकायहरुले यस अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे।

ओलीले लोकतन्त्र प्राप्तिको सात दशकभन्दा लामो संघर्षमा हामीले सामन्ती प्रतिक्रियावादी राज्य सत्ताका बिरुद्ध नेपाली जनतालाई परिचालित गरेको स्मरण गरे। ‘ढाल्नु पर्ने र फाल्नु पर्ने सत्ताको रुपमा हामीले बिरोधको निशाना बनाएको राज्य ब्यवस्था, संविधानसभाद्वारा संविधान जारी भएसँगै समाप्त भयो।’ हामी अहिले जनताद्वारा, जनताको लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको संविधानले सिर्जना गरेको नयाँ राज्यव्यवस्था सञ्चालन गरिरहेका छौं।’ ओलीले भने, ‘प्रश्न उठ्छ– आफैंले, आफ्ना लागि बनाएको यो राज्य प्रणालीमा खाल्डारखुल्डी भए सम्याउन सकिन्छ। तर यसलाई सुदृढ गर्नुको साटो विगतको निरङ्कुश प्रणालीलाई झैं यसका विरुद्ध जानीनजानी माहोल खडा गर्नु कुनै पनि हालतमा उचित हुनै सक्दैन।’

जेठ २४ गते हाम्रो संसदले सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सन्दर्भमा सर्वसम्मत निर्णय गरेको उल्लेख गरेका छन्। ‘हाम्रो निशान छाप संशोधनमार्फत संविधानले सर्वस्वीकार्यता हासिल गरेको छ। सिङ्गो राष्ट्र एक भएको त्यस दिनलाई इतिहासमा बिरलै हुने अविस्मरणीय दिनका रुपमा स्मरण गरिनेछ।’ ओलीले भने, ‘म संघीय संसदका सम्पूर्ण माननीय सदस्यहरुलाई धन्यवाद भन्न चाहन्छु। सम्पूर्ण देशबासी दाजुभाइ दिदीबहिनीहरुलाई बधाई ज्ञापन गर्दै त्यस ऐतिहासिक क्षणको म गर्वका साथ स्मरण गर्न चाहन्छु।’
प्रकाशन मिति–२०७७ साल असोज ३ गते शनिवार ।