काठमाडौं। भ्रष्ट कर्मचारीलाई तह लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ कार्यको शुभारम्भ गरेको छ। त्यो पनि सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीकैरुपमा आफ्ना अनुसन्धान अधिकृत परिचालन गर्नेक्रम शुरु गरेर नयाँ कार्यको थालनी गरेको हो।

विशेष गरी यातायात व्यवस्था विभाग, नापी, मालपोत कार्यालय, नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, विभिन्न सरकारी अस्पतालमा आयोगका अनुसन्धान अधिकृतलगायतका कर्मचारी परिचालित भएका छन् ।

सेवाग्राहीको चाप बढिरहेका कार्यालयमा विचौलिया र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार र अनियमितता हुने गरेको भन्ने जानकारी अत्यधिकमात्रामा आएपछि आयोगले सेवा सुधार गर्दै कर्मचारीलाई सदाचारी बनाउन त्यसरी कर्मचारी परिचालन गरेको जनाएको छ।

आयोगका कर्मचारी सेवाग्राहीका रुपमा त्यस्ता कार्यालयमा जाने र भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्ने तथा घुस लिन खोज्नेलाई ठाउँको ठाउँ पक्राउ गर्ने अधिकारसमेत दिइएको छ ।
प्रकाशन मिति–२०७५ साल फागुन २८ गते मंगलवार ।