काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रको विपद व्यवस्थापनमा तदारुकताका साथ सहयोग गर्ने कार्य हुंदैआएको छ।

यसैक्रममा काठमाडौं महानगरपालिका वडा नंबर २४ स्थित मखन–यटखामा गत विहीवार भएको आगलागी भएर ध्वंस्त भएको घर–परिवारका लागि तत्कालका लागि महानगरले वडा मार्फत १ लाख रकम सहयोग गर्ने भएको हो।

आज सोमवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य आगलागी भएको स्थान मखन–यटखामा पुगेर अवलोकन गर्ने क्रममा विपद व्यवस्थापन विभागकी प्रमुख अर्चना श्रेष्ठलाई विभाग मार्फत तुरुन्त आगलागी पीडित परिवारको सहयोगार्थ नगद १ लाख दिने व्यवस्था गर्न निर्देशन दिएका छन्।

मेयर शाक्यले आगलागीमा घाइते भएका परिवारजनको उचित उपचार तथा उनीहरुको सहयोगार्थ महानगरले सक्दो सहयोग गर्ने बचन पनि दिएका छन्। घटना स्थलको अबस्था र समस्या समाधान गर्नु पर्ने आवश्यकतामा कुरा गर्दै मेयर शाक्यले बिपद् व्यवस्थापन विभागलाई घटना, घटनास्थल र क्षतिको तथ्य संकलन गर्न निर्देशन दिएका छन्।

वडा कार्यालय, स्थानीयबासी र प्रभावित परिवारसँग समन्वय गरेर तत्काल क्षतिको विवरण तयार पार्न पनि मेयर शाक्यले भनेका छन्। वडावाट राहत कार्यक्रम अघि बढाउन पनि निर्देशन दिने कार्य मेयर शाक्यवाट भएको छ।

प्रारम्भिक सूचनाअनुसार, आगलागीवाठ रञ्जु तुलाधर, पुष्प सिलाकार र मनोज सिलाकारको घर पूर्ण क्षति भएको छ भने धनकाजी सिंह, शिव नापित र पुजन रञ्जितको घरमा पनि क्षति पुगेको छ।

पूर्ण क्षतिभएका घरमा ८ परिवार बसोबास गरिरहेका थिए । ती परिवारले प्रयोग गर्ने ग्याँससमेत बल्न थालेपछि आगो नियन्त्रण गर्न कठिन परेको जुद्ध बारुण यन्त्र कार्यालय काठमाडांैका प्रमुख बद्रीमान नगरकोटीले भनेका छन्।

प्रकाशन मिति–२०७५ साल फागुन २७ गते सोमवार ।