काठमाडौं। केही स्थानमा छिटपुट घटना वाहेक आइतवार प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण ढंगले संपन्न भएको छ। मतदाताहरुमा खासै उत्साह तथा उमंग भने यो निर्वाचनमा नदेखिएको तथा मतदाताहरुमा आशा भन्दा बढी निराशा देखिएको कारणले यस्तो भएको हो।

यथास्थितिमा यस्तो देखिएतापनि प्रतिनिधिसभा र प्रदेश सभाको आइतवार संपन्न निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही मत खसेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले पत्रकार सम्मेलन गर्दै यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन्। थपलियाका अनुसार, अघिल्लो निर्वाचन भन्दा यो करिव १७ प्रतिशत कम हो । २०७४ सालको प्रतिनिधिसभातर्फको ६७.६३ प्रतिशत मत खसेको थियो ।
६ महिनाअघि भएको स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए।

 

त्यसबेला देशभरबाट १ करोड १८ लाख ५६ हजार मत खसेको थियो। स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ६५.३५ प्रतिशत, मधेसमा ६७.६९ प्रतिशत, बाग्मतीमा ६४.१६ प्रतिशत, गण्डकीबाट ६८.२८ प्रतिशत, लुम्बिनीमा ६६.७९ प्रतिशत, कर्णालीमा ७० प्रतिशत र सुदूरपश्चिममा ६५.८० प्रतिशत मतदान भएको थियो।
प्रकाशन मिति–२०७९ साल मंसीर ४ गते आइतवार ।